तेह्रथुमबाट काठमाडौं लैजाँदै गरिएका थुनुवा इटहरीबाट फरार

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २२, शुक्रबार १९:२३

विराटनगर । तेह्रथुमबाट काठमाडौं लैजाँदै गरिएका ठगी मुद्दाका १ जना थुनुवा सुनसरीको इटहरीबाट शुक्रबार दिउँसो फरार भएका छन् ।

प्रहरीका अनुसार सुनसरीको धरान उपमहानगरपालिका–१ घर भएका २५ वर्षीय धनबहादुर भुजेल इटहरीबाट दिउँसो ४ बजेतिर फरार भएका हुन् । भुजेलसहित तेह्रथुमको लालीगुराँस नगरपालिका–७ का ३२ वर्षीय डम्बरबहादुर लिम्बूविरुद्ध तेह्रथुमकै इलाका प्रहरी कार्यालय वसन्तपुरले ठगी मुद्दा चलाएको थियो ।

तेह्रथुम प्रहरी प्रमुख डीएसपी लीलाराज लामिछानेका अनुसार भुजेल र लिम्बू मिलेर २ जनाको ८ लाख ५३ हजार रूपैयाँ ठगी गरेका थिए । १ जनाको ६ लाख ६७ हजार र अर्का १ जनाको १ लाख ८६ हजार रूपैयाँ ठगी गरेको पाइएको उनले बताए ।

पीडितलाई पैसा बुझाएर मेलमिलाप भएपछि सरकारी वकिल कार्यालयले दुवै जनाविरुद्ध मुद्दा नचलाउने निर्णय गरेको थियो । त्यसपछि लिम्बूलाई भने जिम्माजमानीमा छाडिएको डीएसपी लामिछानेले बताए । तर, फागुन २७ गते भोजपुरबाट पक्राउ परेका ठगी मुद्दाका अभियुक्त भुजेलविरुद्धको अर्को मुद्दा काठमाडौंमा जीवितै थियो ।

‘सीआरएस अध्ययन गर्दा लिम्बूविरुद्ध अन्तबाट मद्दा नचलेको पाइयो । त्यसपछि आफन्तको जिम्माजमानीमा छाडियो,’ प्रहरी स्रोतले भन्यो, ‘तर, भुजेलविरुद्ध अनलाइनमार्फत ठगी गरेको आरोपमा साइबर ब्युरो काठमाडौंमा मुद्दा दर्ता भएको रहेछ । प्रहरीले अनुसन्धान सकेसँगै २०८० सालमा काठमाडौं अदालतमा मुद्दा दर्ता भएको पाइयो ।’ काठमाडौं अदालतमा उपस्थित गराउनुपर्ने अभियुक्त भुजेललाई तेह्रथुमबाट प्रहरीले काठमाडौं लैजाँदै थियो ।

अदालतको नजरमा फरार अभियुक्त रहेका उनी काठमाडौं लैजाने क्रममा इटहरीबाट फरार भएको डीएसपी लामिछानेले बताए । उनका अनुसार काठमाडौं पुर्याएर साइबर ब्युरोको जिम्मा लगाउने तयारी थियो । असइ नेत्रप्रसाद बास्तोला र हवल्दार नवीनकुमार रायले भुजेललाई सार्वजनिक सवारीसाधनमा काठमाडौं लिएर गएका थिए ।

इटहरीबाट अर्को गाडी परिवर्तन गर्नुपर्ने थियो । इटहरीबाट रात्रि बसमा लैजाने तयारी थियो । गाडी परिवर्तन गर्ने क्रममा शौचालय जान्छु भन्दै प्रहरीलाई झुक्याएर भुजेल फरार भएको जानकारी डीएसपी लामिछानेले दिए ।

‘काठमाडौं लैजाँदै गरिएका थुनुवा प्रहरीको आँखा छलेर भागेका हुन्,’ उनले भने, ‘कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, इलाका प्रहरी कार्यालय इटहरीलगायतका विभिन्न प्रहरी कार्यालयसँग समन्वय गरेर खोजी तीव्र पारिएको छ ।’ खोजी जारी राखिए पनि फेला पार्न नसकिएको बताउँदै लामिछानेले कोही कसैले देखेमा प्रहरीलाई खबर गरिदिन सबैमा आग्रह गरेका छन् ।

भुजेलविरुद्ध काठमाडौं जिल्ला अदालतमा १ लाख ९० हजार बिगो मागदाबीसहित ठगी मुद्दा दर्ता भएको प्रहरीले जनाएको छ । अनलाइनमार्फत ठगी गरेको आरोपमा साइबर ब्युरोले उनीविरुद्ध काठमाडौंमा मुद्दा चलाएको थियो ।

तपाइको प्रतिक्रिया
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
सुनसरीलाई सीसीटीभी निगरानीमा राख्ने योजना, २५० वटा जडान गरिँदै
दानबहादुर कार्कीको रिटमा बुधबार सर्वोच्चमा सुनुवाइ हुँदै
विराटनगरमा राति २ बजेसम्म व्यवसाय खोल्न पाइने, अनुमति प्रक्रिया सुरु
भारतीयका परिवार नै मिलेर नेपालमा लागुऔषध ‘सप्लाई’ : मोरङको रंगेलीबाट बुवा, आमा र छोरा पक्राउ
थाइल्यान्डमा एक भवनमा भीषण आगलागी, ११ जनाको मृत्यु
‘साउदीको अमेजनका गोदाममा नेपालीसहितका श्रमिक शोषणमा’
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.