पर्वहरूले एकता, शान्ति र संस्कृतिको संरक्षणमा योगदान पुर्‍याउँछन् : राष्ट्रपति

Share this
752shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८१ चैत २४, आइतबार ०६:४८

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रामनवमी पर्व–२०८१ को अवसरमा सबै नेपालीलाई सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेका छन्।

स्वदेश तथा विदेशमा रहेका सबै नेपालीहरूलाई समेटेर राष्ट्रपति पौडेलले पर्वले आपसी सद्भाव, धार्मिक सहिष्णुता र राष्ट्रिय एकता सुदृढ होस् भन्ने शुभेच्छा प्रकट गरेका हुन्। रामनवमीको अवसरमा शुभकामना सन्देश जारी गर्दै उनले हरेक वर्ष चैत शुक्ल नवमीका दिन श्रद्धा र भक्ति भावसाथ मनाइने रामनवमी पर्वले मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको आदर्श जीवन दर्शनलाई सम्झाउने उल्लेख गरे ।

श्रीरामको जन्मोत्सवको रुपमा मनाइने यो दिन विशेष पूजा, व्रत, जप–ध्यान आदिको माध्यमबाट भगवानको कृपा प्राप्त हुने धार्मिक विश्वास रहेको राष्ट्रपति पौडेलको भनाइ छ। शताब्दीयौँदेखि चलिआएका यस्ता मौलिक पर्वहरूले हाम्रो प्राचीन सभ्यता, धर्म र संस्कृतिको जगेर्नामा महत्वपूर्ण योगदान पुर्याउँदै आएको उनले बताए ।

रामनवमी पर्वलाई अधर्ममाथि धर्मको विजयको प्रतीकका रुपमा पनि लिइने बताउँदै राष्ट्रपति पौडेलले यो पर्वले समस्त नेपाली समाजमा सामाजिक एकता, सहकार्य र विश्वासको भावना झनै मजबुत पारोस् भन्ने विश्वास व्यक्त गरेका छन् । रामनवमीजस्ता सांस्कृतिक र ऐतिहासिक पर्वहरूले विविध जातजाति, भाषाभाषी तथा भौगोलिक क्षेत्रका नेपालीहरूबीच आपसी समझदारी र भाइचारालाई प्रगाढ बनाउने उनले सन्देशमा उल्लेख गरेका छन् ।

यस दिन विशेषगरी जनकपुरधामस्थित रामजानकी मन्दिरमा विशेष मेला लाग्ने परम्परा रहेको उल्लेख गर्दै उनले यस्ता पर्वहरूले देशको पर्यटन, सांस्कृतिक गौरव र सामाजिक मेलमिलापलाई टेवा पुर्याउने बताए । राष्ट्रपति पौडेलले सम्पूर्ण नेपालीमा दिगो शान्ति, समुन्नति र आपसी प्रेमको भावना अझ बलियो होस् भन्ने कामना गरेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.