
काठमाडौं । नेपालमा पञ्चायती शासन व्यवस्था ढलेर प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज (मंगलबार) जनआन्दोलन दिवस मनाइँदै छ ।
विभिन्न कार्यक्रमको आयोजना गरेर यो दिवस मनाउने गरिन्छ । विक्रम संवत २०४६ चैत २६ गते ३० वर्षीय पञ्चायती शासन व्यवस्थाको अन्त्य भएको थियो । उक्त शासन व्यवस्थाको अन्त्य भएर मुलुकमा प्रजातन्त्र पुनःस्थापना भएको हो ।
मुलुकमा प्रजातन्त्र स्थापना भएको सम्झना र खुसीयालीमा प्रत्येक वर्ष चैत २६ गते जनआन्दोलन दिवस मनाइन्छ । मुलुकमा राजा महेन्द्रले विसं २०१७ पुस १ गते पञ्चायती व्यवस्थाको सुरुवात गरेका थिए ।
तर, जनआन्दोलनका बलमा उक्त व्यवस्थाको अन्त्य विक्रम संवत २०४६ चैत २६ गते भयो । नेपाली कांग्रेसको नेतृत्वमा संयुक्त वाममोर्चासमेतले संयुक्त रूपमा आन्दोलन गर्दा ३० बर्से पञ्चायती व्यवस्था ढलेको थियो ।
पञ्चायती व्यवस्था ढलेर नेपालमा बहुदलीय शासन व्यवस्थाको पुनःस्थापना भयो । कांग्रेस नेता गणेशमान सिंहको नेतृत्वमा भएको जनआन्दोलन ५० दिनसम्म चलेको थियो ।
विक्रम संवत २००७ फागुन ७ गते नेपालमा प्रजातन्त्र स्थापना भएको दिनको अवसर पारी विसं २०४६ फागुन ७ गतेदेखि आन्दोलन सुरु भएको थियो । तत्कालीन राजा वीरेन्द्रले देशवासीका नाममा सम्बोधन गर्दै चैत २६ गते बहुदलीय व्यवस्था पुनःस्थापना भएको घोषणा गरेका थिए ।
तत्कालीन राजाको घोषणासँगै २०४६ चैत २६ गतेबाट नै दलमाथिको प्रतिबन्ध हटेको थियो । त्यस दिनदेखि बहुदलीय व्यवस्था पुनःस्थापना भयो ।
प्रत्येक वर्ष चैत २६ गते विभिन्न कार्यक्रम गरी जनआन्दोलन दिवस मनाइँदै आएको छ । दिवसको अवसरमा यसवर्ष पनि विभिन्न कार्यक्रम आयोजना गर्ने तयारी छ ।
त्यतिबेलाको जनआन्दोलनले राजनीतिक स्वतन्त्रतासँगै वाक तथा अभिव्यक्ति स्वतन्त्रता पनि दिएको थियो । मरिचमान सिंह नेतृत्वको मन्त्रिमण्डलले २०४६ सालको जनआन्दोलनमा दमन गरेको थियो ।
तर, आन्दोलन झन् चर्किंदै गएपछि तत्कालीन राजा वीरेन्द्रले सिंह नेतृत्वको सरकार विघटन गरेर लोकेन्द्रबहादुर चन्दको नेतृत्वमा ३ सदस्यीय मन्त्रिमण्डल बनाएका थिए । यद्यपि, चन्द नेतृत्व मन्त्रिमण्डल २ दिनमात्रै टिक्यो ।
चन्द नेतृत्वको मन्त्रिमण्डल गठन गरिएपछि आन्दोलनले झन् ठूलो रूप लिएको थियो । नारायणहिटी दरबार अगाडि राखिएको राजा महेन्द्रको शालिक आन्दोलनकारीले तोडफोड गरेका थिए । चैत २५ र २६ गते पनि देशभर आन्दोलन जारी रहेपछि राजा वीरेन्द्रमाथि राष्ट्रिय–अन्तर्राष्ट्रिय दबाब बढ्यो ।
त्यसपछि उनले आन्दोलनकारीलाई वार्तामा बोलाए । आन्दोलनकारीका तर्फबाट कांग्रेस नेता कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला तथा वाममोर्चाका तर्फबाट सहाना प्रधान र राधाकृष्ण मैनालीको प्रतिनिधिमण्डलले वार्ता गरेको थियो । यही वार्ताबाट दलविहीनको व्यवस्था संविधानबाट हटाइएको थियो ।
त्यसैले २०४६ सालको जनआन्दोलन राजनीतिक परिवर्तनका लागि १ महत्वपूर्ण तथा ऐतिहासिक मानिन्छ । यद्यपि, यस जनआन्दोलनको स्मरण अहिले राजनीतिक दलहरूले गर्न छाडेका छन् । जनआन्दोलनको भावना र मर्म बिर्संदै गएको आरोप खेप्ने राजनीतिक दलहरुले औपचारिक कार्यक्रम गर्नसमेत छाडेका छन् ।
यद्यपि प्रमुख राजनीतिक दलहरुले २०६२ सालमा पनि दोस्रो जनआन्दोलनको सुरुवात चैत २४ बाट गरेका थिए । दोस्रो जनआन्दोलनले राजसंस्था अन्त्य गरी नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको थियो ।

























