
विराटनगर । काठमाडौंको हिंसात्मक प्रदर्शनपछि भारततिर भागेका राजावादी आन्दोलनका कमाण्डर दुर्गा प्रसाईंलाई पक्राउ गरेर झापा ल्याइएको छ ।
भारतबाट पक्राउ परेका उनलाई काँकडभिट्टा नाका हुँदै झापा ल्याइएको हो । उनलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौं लैजाने तयारी प्रहरीले गरेको छ । प्रसाईंलाई कडा सुरक्षाबीच झापा ल्याइएको थियो ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्कर्टिङ गरेका थिए । प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष ब्युरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो । भारतको आसाम राज्यमा बिहीबार पक्राउ परेका उनको बारेमा प्रहरीले विस्तृत जानकारी दिएको छैन ।
पक्राउ परिसक्दा पनि नेपाल प्रहरीले जानकारी नभएको बताएको थियो । रजसंस्था पुनर्स्थापनाका लागि भन्दै संयुक्त जनआन्दोलन परिचालन समितिले तीनकुनेमा चैत १५ गते गरेको प्रदर्शन हिंसात्मक बन्दा १ जना पत्रकारसहित २ जनाको मृत्यु भएको थियो ।
अराजक बनेका प्रदर्शनकारीले निजी र सार्वजनिक सम्पत्तिमा तोडफोड एवं आगजनी गरेका थिए । प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीलाई नै पेलेर गाडी चलाउँदै अघि बढेका प्रसाईं एकाएक सम्पर्कविहीन बने ।
पक्राउ परिसकेपछि उनी भारतमा लुकिछिपी बस्दै आएको खुलेको छ । प्रसाईंले भने सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको बताउँदै आएका थिए ।प्रसाईंलाई काठमाडौं लगेर संगठित अपराध, राज्यविरुद्धको कसुर, अपराधिक उपद्रवलगायतका अभियोगमा अनुसन्धान गर्ने प्रहरीको तयारी छ ।
तीनकुने प्रदर्शनका बेला उनले प्रहरी अधिकारीहरुलाई नै किच्याउने गरी गाडी हाँकेका थिए । यस्तोमा उनीविरुद्ध ज्यान मार्ने उद्योग गरेको कसुरमा पनि मुद्दा चल्न सक्ने प्रहरी अधिकारीहरुको भनाइ छ । यद्यपि, घटनाको प्रकृति हेर्दा ज्यान मार्ने उद्योगको कसुर भने ठहरिने देखिँदैन ।
प्रसाईंलाई अहिले भने जिल्ला प्रहरी कार्यालय झापाको हिरासतमा राखिएको छ । उनलाई बिहान ११ः३० बजे बुद्ध एअरको जहाजमार्फत काठमाडौं लैजाने तयारी । भारतको आसाम राज्यमा उनी फेला परेका थिए । प्रसाईंको सचिवालयले भने आसाम प्रहरीमा उनी आफैंले आत्मसमर्पण गरेको दाबी गरिरहेको छ ।

























