
विराटनगर । उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्री प्रकाशमान सिंहले बुधबार मोरङमा ३ वटा पुलको उद्घाटन गरेका छन् ।
सहरी विकास मन्त्रालयले निर्माण गरेको मोरङ क्षेत्र नम्बर ५ जहदा गाउँपालिकाका ३ वटा पुलको उपप्रधानमन्त्री सिंहले, कोसी प्रदेशसभा सदस्य अमृत अर्याल, गयानन्द मण्डललगायतले उद्घाटन गरे ।
कटहरी गाउँपालिका–२ र जहदा गाउँपालिका–४ जोड्ने लोहन्द्रा खोलाको कृपा घाट, जहदा–७ स्थित भारतीय सीमा जोड्ने लोहन्द्रा खोला र जहदा–२ को जुडी खोलामा निर्माण गरिएको पुलको उद्घाटन गरेका हुन् ।

उपप्रधानमन्त्री सिंहले ग्रामीण क्षेत्रमा निर्माण भएको सडक र पुलले सर्वसाधारणको जीवनस्तरमा सुधार ल्याउने विश्वास व्यक्त गरे ।
किसानले उत्पादन गरेका तरकारीलगायत कृषिजन्य उत्पादन बजारसम्म सहज रूपमा लगेर बिक्री गर्दा मुनाफा बढी प्राप्त गर्ने हुँदा उहाँहरूको जीवनस्तरमा सुधार हुने बताउँदै, उपप्रधानमन्त्री सिंहले भने, ‘सडक र पुल निर्माणले आवागमन वृद्धि हुँदा आर्थिक गतिविधि बढ्दा सर्वसाधारणको जीवनस्तरमा सुधार ल्याउन मद्दत पुग्ने छ ।’
जहदामा निर्माण भएका ३ वटा पुलका कारण स्थानीयको जीवनमा ठुलो राहत पुगेको जहदा गाउँपालिका अध्यक्ष जितेन्द्र साहले बताए ।
उनले अहिले निर्माण सम्पन्न भएका पुल नहुँदा यहाँका मानिसले ठुलो समस्या झेल्दै आउनु परेको बताए ।
पुल नहुँदा यहाँ किसानले उत्पादन गरेका तरकारीलगायत अन्य कृषि सामाग्री बजारसम्म पुर्याउने समस्या र बिरामी हुँदा उपचारका लागि जाँदा झेल्नु परेको पीडा सुनाउँदै, अध्यक्ष साहले भने, ‘अहिलेका प्रदेशसभा सदस्य अमृत अर्याल संविधानसभा सदस्य हुँदा नै उहाँको पहलमा यो ३ वटा पुलको आयोजना पार्नु भएको थियो । पुल नहुँदा बर्खायाम बढी समस्या हुने गरेको थियो । यो पुलले अब विराटनगरलगायत अन्य क्षेत्रसँगको सम्बन्ध सहज र छिटो बनाएको छ ।’
सडक बाटो, पुल नहुँदो सीमावर्ती क्षेत्रका बासिन्दालाई समस्या भएको भन्दै यहाँका बासिन्दाको जीवनस्तरमा सुधार ल्याउन पहिलो काम सडक सञ्जाल भएको उनले बताए ।
अध्यक्ष साहले अमृत अर्यालले ५ नम्बर क्षेत्रमा धेरै सडक र पुल निर्माण गर्नुका साथै क्षेत्रको विकासमा विशेष योगदान गरेको बताए ।
क्षेत्र नम्बर ५ का कोसी प्रदेशसभा सदस्य अर्यालले कटहरी गाउँपालिकादेखि–भारतीय सीमासम्मको सडक निर्माण गरी गणेशमान सिंह सडक नामाकरण प्रस्ताव गरेका थिए ।
उनले सडकको नाममा स्थानीयको साथ र सहयोग भएको हुँदा उपप्रधानमन्त्री सिंहलाई चालु आवमा नै बजेट विनियोजन गरेर सडक निर्माण गरी गणेशमान सिंह सडक नामाकरण गर्न आग्रह गरे ।
























