
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का महामन्त्री धवल शम्शेर राणा हाजिरजमानीमा छुटेका छन् ।
राजावादीले चैत १५ गते काठमाडौंको तीनकुनेमा गरेको हिंसात्मक प्रदर्शनपछि उनलाई प्रहरीले पक्राउ गरेको हो । प्रदर्शनलाई उत्तेजक र हिंसात्मक बनाउने भूमिका खेलेको भन्दै राणाविरुद्ध राज्यविरुद्धको कसुरमा म्याद थप गरेर प्रहरीले अनुसन्धान गरिरहेको थियो ।
स्वास्थ्यका कारण आवश्यक परेका बखत उपस्थित हुने गरी आइतबार राति हाजिर जमानीमा छाडिएको काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीले जानकारी दिए । प्रहरीले राणालाई पत्नी प्रतिभा राणाको जिम्मा लगाएको छ ।
प्रहरीले राणाको परिवारलाई आइतबार बेलुकी ५ बजेपछि बोलाएको थियो । तर, उनकी पत्नी ७ बजेपछि मात्रै पुगिन् । सबै प्रक्रिया सकिएर प्रहरी कार्यालयबाट निस्कँदा करिब ९ बजेको थियो ।
राणा रिहा भए पनि उनीविरुद्धको मुद्दामा अनुसन्धान जारी नै रहने प्रहरीले जनाएके छ । राणा अनुसन्धान एवं कानुनी प्रक्रियामै रहेको एसएसपी अधिकारीले बताए ।

























