
विराटनगर । प्रशिद्ध धार्मिक तीर्थस्थल ताप्लेजुङको पाथीभरा दर्शन गर्न जाने क्रममा गाडीमा आगलागी भएर घाइते भएका आमा–छोरालाई थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
ललितपुरको ललितपुर महानगरपालिका–१० की ४५ वर्षीया सविना आचार्य र उनका १० वर्षीय छोरा भविमय आचार्यलाई अन्नपूर्ण हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी रवि रावलले मुलुकी खबरलाई जानकारी दिए । उनका अनुसार शरीरका अधिकांश भाग जलेर सविनाको अवस्था गम्भीर छ । छोरा भविमयको अवस्था सामान्य रहेको उनले बताए ।
घाइतेलाई थप उपचारका लागि काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना गरिएको रावलले बताए । पाथीभरा दर्शन गर्ने तीर्थयात्री बोकेर गएको मे १ च ३०११ नम्बरको बोलेरो जिपमा सोमबार बिहान करिब ५ बजेतिर आगलागी भएको थियो ।
सदरमुकाम फुङलिङबाट पाथीभरा मन्दिरतर्फ जाँदै गरेको जिपमा फुङलिङ नगरपालिका–१० तेर्सेको सेवारो चोकमा पुगेपछि आगलागी भएको थियो । बिजुलीको पोलबाट लत्रिएको तार अल्झिएर गाडीमा अचानक आगलागी हुँदा जलेर ४ जनाको मृत्यु भएको डीएसपी रावलले बताए ।
उनका अनुसार ललितपुर–१० की १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका–१५ का ७० वर्षीय विनोद पौडेल, उनकी पत्नी ६९ वर्षीया सरिता पौडल र जिप चालक फुङलिङ–१० का ४२ वर्षीय दुर्गा भट्टराईको घटनास्थलमै मृत्यु भएको हो । शवहरु जलेर चिन्न नसकिने अवस्थामा छन् ।
सबै शवलाई उठाएर अस्पताल लगिएको प्रहरीले जनाएको छ । मृतक आध्या घाइते भएकी सविनाकी छोरी हुन् । विनोद र सरिता बुवा–आमा हुन् । सविना आफ्ना सन्तान र बुवा–आमालाई लिएर पाथीभरा दर्शन गर्न जाँदै गर्दा घटना भएको हो ।
घटनाको जानकारी पाउनसाथ डीएसपी रावल नेतृत्वको टोलीले घटनास्थल पुगेर उद्धार सुरु गरेको थियो । आगोले जलेर बोलेरो जिप पूर्णरूपले क्षतिग्रस्त बनेको छ । डीएसपी रावलले घटनाको थप अनुसन्धान भइरहेको जनाए ।

























