
विराटनगर । नेकपा (एमाले)का सचिव एवं प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले ताप्लेजुङको पाथीभरा देवी (मुक्कुमलुङ) दर्शन गर्न जाने क्रममा गाडीमा आगलागी भएर मानवीय क्षति भएको घटनाप्रति दुःख व्यक्त गरेका छन् ।
भट्टराई ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् । उनले आफ्नो निर्वाचन क्षेत्रमा भएको पीडादायी घटनाप्रति दुःख व्यक्त गरेका छन् । भट्टराईले मृतकहरुप्रति श्रद्धाञ्जली र शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेका छन् ।

उनले घाइतेको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका छन् । पाथीभराका दर्शनार्थी लिएर जाँदै गरेको मे १ च ३०११ नम्बरको बोलेरो जिपमा बिजुलीको पोलबाट लत्रिएको तार अल्झिएर आगलागी हुँदा ४ जनाको मृत्यु भएको थियो । ताप्लेजुङको फुङलिङ नगरपालिका–१० तेर्सेको सेवारो चोकमा पुगेपछि जिपमा आगलागी हुँदा २ जना घाइते भएका थिए ।
उक्त दुर्घटनामा ललितपुरको ललितपुर महानगरपालिका–१० की १६ वर्षीया आध्या आचार्य, झापाको भद्रपुर नगरपालिका–१५ का ७० वर्षीय विनोद पौडेल, उनकी पत्नी ६९ वर्षीया सरिता पौडल र जिप चालक फुङलिङ–१० का ४२ वर्षीय दुर्गा भट्टराईको घटनास्थलमै मृत्यु भएको थियो । ललितपुर–१० की ४५ वर्षीया सविना आचार्य र उनका १० वर्षीय छोरा भविमय आचार्य घाइते भएका छन् ।
घाइते आमा–छोरालाई अन्नपूर्ण हेलिकोप्टरमार्फत थप उपचारका लागि काठमाडौं पठाइएको ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी रवि रावलले जानकारी दिए । उनका अनुसार शरीरका अधिकांश भाग जलेर सविनाको अवस्था गम्भीर छ । घाइतेलाई उपचारका लागि काठमाडौंको ह्याम्स अस्पतालमा भर्ना गरिएको रावलले बताए ।
ताप्लेजुङ घटनाका घाइते आमा–छोरालाई उपचारका लागि काठमाडौं लगियो
























