
विराटनगर । आवासीय चिकित्सकको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई आज (बिहीबार) ज्ञापनपत्र बुझाइएको छ ।
विराटनगरका डाक्टरहरुले जिल्ला प्रशासन कार्यालय पुगेर प्रजिअ यादवलाई ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझाउन अस्पताल विकास समिति कर्मचारी युनियन कोशी अस्पताल इकाईका अध्यक्ष डाक्टर रोशन खड्काको नेतृत्वमा चिकित्सकहरुको टोली प्रशासन पुगेको थियो । प्रजिअलाई ज्ञापनपत्र बुझाउन चिकित्सकको टोली र्यालीसहित प्रशासन कार्यालय पुगेको हो ।

वरिष्ठ फिजिसियनसमेत रहेका डा. खड्काले ज्ञापनपत्र बुझाएर आवासीय चिकित्सकको माग सम्बोधनका लागि दबाब दिइएको बताए । आवासीय चिकित्सकलाई आठौं तहको निर्वाह भत्ता दिनुपर्ने र उनीहरुको ड्युटी समय निर्धारण गर्नुपर्ने मुख्य माग रहेको जानकारी अध्यक्ष खड्काले दिए ।
उनले विज्ञप्ति जारी गर्दै आवासीय चिकित्सकको मागप्रति पूर्ण समर्थन रहेको तथा आन्दोलनका हरेक चरणमा साथ एवं सहयोग रहने स्पष्ट पारेका छन् ।

सरकारी सरह निर्वाह भत्ता माग गर्दै नेपाल चिकित्सक संघको आह्वानमा निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सक आन्दोलनमा उत्रिएका छन् । माग पूरा नभए शुक्रबारदेखि देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा ठप्प पार्ने चेतावनी चिकित्सकले दिएका छन् ।

निजी मेडिकल कलेजले निर्वाह भत्ता नदिएसम्म नियमित चिकित्सकीय सेवा पूर्णरूपमा बन्द रहने आवासीय चिकित्सकहरु बताउँछन् । प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा गत माघ २५ गते बसेको आयोगको १६ औं बैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह (आठौँ तह)को निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो ।
निर्णय कार्यान्वयन हुँदा आवासीय चिकित्सकले मासिक ४८ हजार ७ सय पाउँछन् । तर, निजी मेडिकल कलेजले निर्देशन अवज्ञा गरेपछि आवासीय चिकित्सक आन्दोलनमा उत्रिएका हुन् ।


























