
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आवासीय चिकित्सकहरूको माग पूरा गर्न माग गरेको छ ।रास्वपाकी केन्द्रीय स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख डा. तोसिमा कार्कीले विज्ञप्ति निकालेर आवासीय चिकित्सकका मागप्रति सरकारको ध्यानाकर्षण गराउँदै तिनलाई पूरा गर्न माग गरेकी हुन् ।
विज्ञप्तिमा भनिएको छ, ‘चिकित्सा शिक्षा आयोगको १६ औं बैठकको निर्णय कार्यान्वयन गरी समय सापेक्ष र सामाजिक न्यायको सिद्धान्तको समेत सम्मान गर्दै आवासीय चिकित्सकहरूको माग अबिलम्ब पूरा गर्न राष्ट्रिय स्वतन्त्र पार्टी सरकारलाई जिम्मेवार हुन जोडदार माग गर्दछ ।’
निजी मेडिकल कलेजका आवासीय चिकित्सकहरूले नेपालको स्वास्थ्य सेवामा महत्वपूर्ण भूमिका खेलिरहेको उल्लेख गर्दै उनले उनीहरूका माग सरकारले सुन्नुपर्ने आग्रह गरेकी छन् । आवासीय चिकित्सकहरुले सरकारी सरह भत्ता लगायतका माग राख्दै आन्दोलन गर्दै आएका छन् ।
चिकित्सा शिक्षा आयोगले सरकारी सरह भत्ता दिन निजी मेडिकल कलेजहरुलाई निर्देशन दिँदा पनि कार्यान्वयन नभएको विरोधमा उनीहरुले आज देशभरका अस्पतालहरुमा आकस्मिक बाहेकका सेवा ठप्प पार्ने निर्णय गरेका छन् ।

























