
विराटनगर । इलामको माई नगरपालिकामा ज्वाइँले जेठीसासू ( श्रीमतीकी दिदी )को हत्या गरेका छन् ।
माई नगरपालिका –४ सिञ्जालीटारकी ५२ वर्षीया भूमिका चापागाईं (जेठीसासू) लाई ज्वाइँले धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।
सोही वडाको शुक्रबारे घर भइ सिञ्जालीटार आसपास बस्दै आएका ४२ वर्षीय शान्तिराम दुलाल (बहिनी ज्वाईं)लाई जेठीसासूको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।
शुक्रबार साँझ ७ बजेतिर छिमेकीकोमा दुध लिन जाँदै गर्दा चापागाईंलाई शान्तिरामले टाउकामा धारिलो हतियार प्रहार गरी घाइते बनाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
गर्धन र कन्चटमा गहिरो चोट लागेकी चापागाईंलाई तत्कालै माई अस्पताल लगे पनि त्यहाँ उपचार सम्भव नभएपछि थप उपचारका लागि बिर्तामोडस्थित बी एण्ड सी अस्पताल लगिएको थियो । शुक्रबार राति १०:२० बजेतिर उपचारका क्रममा बी एण्ड सी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
शान्तिराम र उनकी श्रीमती गीताबीच माना चामल र अंश मुद्दा चलिरहेका बेला भूमिकासँग शान्तिरामको अदालत परिसरमा विवाद भएको स्थानीयले जनाएका छन् । विवादपछि भूमिकाले शान्तिरामविरुद्ध अभद्र व्यवहार मुद्दासमेत दायर गरेकी थिइन् ।
शान्तिरामविरुद्ध मुद्दा दर्ता भएपछि प्रहरीले खोजी गरिरहेको थियो । घटनापछि शान्तिरामलाई पक्राउ गरी अनुसन्धानको दायरामा ल्याइएको प्रहरीले जनाएको छ ।

























