मोरङमा सय करोडको लगानीमा सलाइन पानी उद्योग स्थापना

Share this
756shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ वैशाख १५, सोमबार २३:०४

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिकामा सलाइन पानी उद्योग स्थापना भएको छ ।

मेडिकल व्यावसायी दिनेश ठाकुर र रज्जित भगतको लगानीमा एलेक्जा लाइफ साइन्सेस प्रालि स्थापना भएको हो । यो उद्योगले ‘एलेक्जा’ ब्राण्डमा सलाइन पानी उत्पादन गर्नेछ । सञ्चालक ठाकुरका अनुसार ७५ करोड लगानी भइसकेको उद्योग पूर्णरूपमा सञ्चालनमा आउँदा १०० करोड लगानी पुग्नेछ ।

उद्योगले पहिलो चरणमा अत्यावश्यक मानिने सलाइन पानी एलभीपी उत्पादन बजारमा पठाउँनेछ । एलभीपी सलाइन १ सय, ५ सय, १ हजार र ३ हजार एमएल गरी ४ प्रकारका बोतलमा बजारमा आउँनेछ । उद्योगसँग मासिक ९ लाख बोतल सलाइन पानी उत्पादन गर्ने क्षमता रहेको ठाकुरले बताए ।

आधुनिक चिकित्सामा बिरामीका लागि सलाइन पानीलाई महत्त्वपूर्ण तत्त्व मानिन्छ । मुखबाट दिइने औषधिभन्दा सलाइन पानीलाई संवेदनशील हुन्छ । एलभीपी सिधै रगतमा पुगेर मुटु र मस्तिष्कसम्म जाने भएकाले गुणस्तरमा कुनै कमीकमजोरी भए ज्यान जोखिममा पर्ने सम्भावना उच्च हुन्छ । सलाइन पानी रगतजत्तिकै शुद्ध हुनुपर्ने चिकित्सा विज्ञानको मान्यता छ ।  विश्व स्वास्थ्य संगठनको कुशल औषधी उत्पादन (जीएमपी) र अन्य अन्तर्राष्ट्रिय मापदण्ड अनुसार अत्याधुनिक प्लान्ट स्थापना गरिएको ठाकुरले बताए ।

एलेक्जाले दोस्रो चरणमा सानो परिमाणमा स्मल भोल्युम प्यारेन्टेरल (एसभीपी) उत्पादन गर्ने छ । एसभीपी अन्तर्गत १ देखि २० एमएलसम्मका इन्जेक्टेबल लिक्विड हुनेछन् ।

नेपालमा वार्षिक ६० अर्बको औषधि बिक्री हुनेमा ६० प्रतिशत हिस्सा विदेशी कम्पनीको उत्पादनले ओगटेको छ ।

एलेक्जाले आफ्नो उत्पादन विदेशमा पनि निर्यात गर्ने लक्ष्य राखेको छ । ठाकुरले एलेक्जा ब्रान्डको एलभीपी भारत, श्रीलंका, भुटान, यमन लगायत १० देशमा निर्यात हुने बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×