
विराटनगर । कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईविरुद्ध खाेटाङमा नाराबाजी भएकाे छ ।
बिहीबार खोटाङको साकेला गाउँपालिका– ३ को खिदिमा ढाँडे पुगेका मन्त्री राईविरुद्ध नाराबाजी भएकाे हाे ।
स्वास्थ्य मन्त्रीसमेत रहेका राई बुधबार खोटाङ पुगेका थिए । बिहीबार दिउँसाे साकेला– ३ मा सर्वदलीय सर्वपक्षीय नागरिक भेटघाट कार्यक्रम राखेका थिए ।
तर उनी कार्यक्रम स्थल पुग्नु अघि गेटमा साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईसहितले प्रवेश गर्न नदिने भन्दै अवराेध गरे । मन्त्री पुग्नै लाग्दा उनले बाटाे छेकेका थिए । गेटमा नै अवराेध भएपछि केही समय विवाद भयाे ।
प्रहरीले बल प्रयाेग गरेर मन्त्री राईलाई सुरक्षित स्थान तर्फ लगेकाे थियाे । त्यसपछि कार्यकर्ताले नाराबाजी गरे ।
मन्त्री राईविरुद्धको आन्दोलनको नेतृत्व साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले गरेका थिए । उनले कांग्रेसबाटै पालिका अध्यक्ष जितेका हुन् ।
अध्यक्ष राईले पालिकाको याेजना कटाैती भएपछि स्थानीयले आक्रोश व्यक्त गरेको बताए । पालिकाकाे बजेट अन्यन्त्र लगिएकाे बताउँदै उनले पालिका प्रमुख भएका कारण स्थानीयको नेतृत्व गर्दै मन्त्रीको कार्यशैलीको विरोध गरेको बताए ।
मन्त्री राईले रोकिएका योजनाहरुका लागि पुन बजेट दिने प्रतिवद्धता जनाएपछि सहमति भएको उनले बताए ।
आन्दोलनकारीको तर्फबाट पालिका अध्यक्ष रविप्रकाशले मन्त्री राईसँग छलफल गरेका थिए । छलफलपछि दुवै नेताले आएर कार्यकर्तालाई सम्बोधन गरे ।
पालिका अध्यक्षले आफ्ना पालिकाका योजनाहरु सुनाए, त्यसमा मन्त्री राईले बजेट दिने प्रतिवद्धता जनाएपछि विवाद साम्य भयो । त्यसपछि कार्यक्रम पनि भयाे ।
मन्त्री राईका स्वकिय सचिव अमृत गिरीले कार्यक्रम स्थलमा सामान्य भनाभन मात्रै भएको बताए । छलफलपछि सर्वपक्षीय बैठक सकेर मन्त्रीको टोली फर्किएको उनले बताए ।
























