कांग्रेस नेता कोर्मोचाको निधन

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेष्ठ ३, शनिबार १३:१३

ओखलढुङ्गा । नेपाली कांग्रेसका नेता महेश कोर्मोचाको निधन भएको छ । ओखलढुङ्गा जिल्ला विकास समितिका पूर्वसभापति एवं नेपाली कांग्रेसका पुराना नेता ८२ वर्षीय कोर्मोचाको उपचारका क्रममा गएराति काठमाडौँस्थित बिएण्डबी अस्पतालमा निधन भएको हो ।

विसं २००२ मा ओखलढुङ्गाको खिजीचण्डेश्वरीमा जन्मिएका कोर्मोचा २०३१ सालको टिमुरबोटे काण्डमा बचेका थिए । उनले नेपाली राजनीतिमा लामो समय योगदान गरेका छन् । वि.सं २००७ मा भएको क्रान्तिमा लगौँटीमा कांग्रेसका चिट्ठी ओसार्ने जिम्मेवारी पाएसँगै सुरु भएको उनको राजनीतिक यात्रा पछि ओखलढुङ्गा जिल्ला पार्टीको सभापति र तत्कालीन जिल्ला विकास समितिको सभापतिसमेत बने ।

Advertisement

हजुरबुबा भूमिगत कांग्रेस कार्यकर्ता भएकाले घरैबाट २००७ सालको क्रान्तिको सुरुआत भएको बताउने महेश कोर्मोचालाई त्यो बेला लगौँटीमा कांग्रेसका चिट्ठी ओसार्ने जिम्मेवारी थियो ।  विसं २०१७ पुस १ गते राजा महेन्द्रले प्रजातन्त्रविरुद्ध ‘कु’ गरेपछि गाउँ आतङ्कित भएसँगै प्रशासनसँग बच्न गाउँका १५ जना युवालाई लिएर कोर्मोचा ब्रिटिस आर्मीमा भर्ती हुन धरान गएका थिए ।

उनीसहित १४ जना भर्ती भएका थिए । ब्रिटिस आर्मीमा कोर्मोचाले आठ वर्ष सेवा गरेका थिए । त्यसपछि फौज कटौतीमा परेर जागिर छाड्नुपरेसँगै फेरि गाउँ फर्किएर राजनीतिमा सक्रिय भएका थिए । वि.सं २०२५ मा नेपाली कांग्रेसले सशस्त्र युद्धको घोषणा गरेपछि ब्रिटिस आर्मीमा काम गरिसकेका महेशको खोजी भएको थियो । त्यो आन्दोलनमा विभिन्न भूमिकामा रहेर कोर्मोचाले काम गरे । त्यसबेला उनले सवारी चालक भएकोदेखि रक्सीको व्यापारसमेत गरेर सङ्गठन निर्माण गरेको इतिहास छ ।

विसं २०३१ पुस १ गते सोलु ब्यारेक कब्जा गर्ने योजनाअनुसार मङ्सिर २९ गते टिम्बुरबोटेको जङ्गलमा पुगेको कांग्रेसको टोलीमा कोर्मोचा पनि थिए । क्याप्टेन यज्ञबहादुर थापा नेतृत्वको टोली ओडारमा बस्ने र त्यहाँको गाउँठाउँ बुझेका महेश कोर्मोचा सल्लेरीसम्म पुगेर ‘रेकी’ गर्ने योजना बनेको थियो ।

बाँकी साथीलाई टिम्बुरबोटेको जङ्गलमा छाडेर कोर्मोचा राति नै सल्लेरीतर्फ लागेकाले भोलिपल्ट भएको टिमुरबोटे काण्डमा संयोगबस कोर्मोचा बच्न सफल भएका थिए । त्यसदिन टिम्बुरबोटेको ओडारमा १८ जना योद्धालाई एकै चिहान बनाइएको थियो ।

ओडारमा बसेका केही लडाकु भाग्न सफल भएका थिए । भाग्नेमध्येमा एक थिए क्याप्टेन यज्ञबहादुर थापा । उनी नेपाली सेनाका पूर्वक्याप्टेन थिए । नेपाली कांग्रेसले २०२५ सालमा सशस्त्र युद्धको घोषणा गरेपछि जागिर छाडेर विद्रोहमा लागेका थिए । टिम्बुरबोटे काण्डमा बचेका थापालाई २०३५ सालको माघमा कमला नदीको किनार पुर्याइ हत्या गरिएको थियो ।

वि.सं २०३३ मा राष्ट्रिय मेलमिलापको नीति लिएर बिपी स्वदेश फर्किएपछि महेश पनि पक्राउ परेका थिए । राज्यविरुद्धको मुद्दामा उनले पटकपटक गरी आठ वर्षको जेल जीवन बिताएका थिए । विसं २०४६ को बहुदलीय व्यवस्था पुनःस्थापनापछि कोर्मोचा दुई पटक जिविस सभापति र दुई पटक ओखलढुङ्गा कांग्रेसको सभापति भएका थिए ।

बाल्यकालदेखि आबद्ध रहेको कांग्रेस पार्टीमा ७० वर्ष बिताएका कोर्मोचाले २०७३ सालमा कांग्रेस परित्याग गरेर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीमा आबद्ध भएका थिए । नयाँ शक्ति त्यागेर विजयकुमार गच्छादार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमको सहसंयोजकसमेत बनेका कोर्मोचा पुनःकांग्रेसमै फर्किएर सक्रिय राजनीति गरिरहेका थिए । उनको जन्मथलो ओखलढुङ्गाकै खिजीचण्डेश्वरीमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ । कोर्मोचाका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् ।  (रासस)

 

तपाइको प्रतिक्रिया
विनीसियस चम्किँदा ब्राजिलको प्रभावशाली जित, स्कटल्यान्ड दबाबमा
कतारमाथि बोस्नियाको जित
स्विट्जरल्यान्ड समूह विजेता बन्दै अन्तिम ३२ मा, हारका बाबजुद क्यानडाले रच्यो इतिहास
मोरङको रंगेलीमा सर्पले डसेर एक जनाको मृत्यु
जीवन विकासको विशेष साधारणसभा : ऐतिहासिक मर्जर सम्झौता पारित
इटहरीले ल्यायो साढे २ अर्बको बजेट, धरानमा भने फेरि अन्योल
विराटनगरमा मिटरब्याजपीडितले गरिन् आत्महत्या, एउटै परिवारका तीन जनामाथि अनुसन्धान
टनटलापुर घाँममा किसानलाई चटारो (फाेटाे)
यस वर्षको मनसुनबाट ५१ हजार घरधुरी प्रभावित हुने अनुमान
सुरक्षा कोषमा आबद्ध गराएको प्रमाण अनिवार्य गराउन माग
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.