
झापा । बाह्रदशी जेसीजले सामुदायिक विद्यालयमा अध्ययनरत १७ जना विद्यार्थीको अभिभावकत्व ग्रहण गरेको छ ।
अति विपन्न विद्यार्थीको अध्ययनमा सहजताका लागि अभिभावकत्व ग्रहण गर्दै शैक्षिक सामग्रीसमेत वितरण गरेको छ ।
बाह्रदशी गाउँपालिकाको कार्यालयमा आयोजित कार्यक्रमकाबीच १६ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई प्रति विद्यार्थी ४ हजार ५ सय रुपैयाँ बराबरको स्कुल ब्यागसहित स्टेसनरी सामग्री प्रदान गरिएको थियो ।
गाउँपालिका अध्यक्ष देविन्द्रप्रसाद चम्लागाईं, प्रमुख प्रशासकीय अधिकृत जनार्दन निरौलासहितले उनीहरूलाई नगद १ हजार रुपैयाँसहित स्टेसनरी सामग्री प्रदान गरेका थिए ।
बाह्रदशी जेसीजले सन् २०२३ बाट यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीको अभिभावकत्व ग्रहण गर्दै प्रत्येक वर्ष उनीहरूको पढाइ खर्च व्यहोर्दै आएको जेसीजले यो वर्ष पनि सो कार्यक्रमलाई निरन्तरता दिएको हो ।
अभिभावकत्व ग्रहण गरिएका बालबालिकालाई उच्च शिक्षा अध्ययनमा समेत जिम्मेवारी लिइने बताइएको छ ।
जेसीजले गरेको कार्यक्रमको प्रशंसा गर्दै गाउँपालिका अध्यक्ष चम्लागाईंले समेत २ जना बालबालिकाको अभिभावकत्व ग्रहण गरेका छन् ।
उनले अमृत माध्यमिक विद्यालय भागुडुब्बामा अध्ययनरत विद्यार्थी मनिष राजवंशी र सुन्दरपुर आधारभूत विद्यालयका आशिका गणेशको अभिभावकत्व ग्रहण गरेका हुन् ।
त्यस्तै, बाह्रदशी जेसीज सन् २०२५ का अध्यक्ष तीर्थप्रसाद काफ्लेले फूलबारी माविका विद्यार्थी पदमा राजवंशीको अभिभावकत्व ग्रहण गरेका छन् ।
१ सदस्य १ अभिभावक भन्ने नारा लिएको जेसीजले सुरु गरेको छ । अभिभावकत्व ग्रहण कार्यक्रम राजु अधिकारीको संयोजकत्वमा भएको हो । बाह्रदशी जेसीज सन् २०२५ का अध्यक्ष तीर्थप्रसाद काफ्लेको अध्यक्षतामा कार्यक्रम भएको थियो ।

























