खोटाङका तत्कालीन शिक्षा अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Share this
788shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २३, शुक्रबार १७:२४

काठमाडौं । खोटाङका तत्कालीन जिल्ला शिक्षा अधिकारी ज्ञानमणि नेपालविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । नेपालसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता भएको हो ।

खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ स्थित श्री कृष्ण उच्च माध्यमिक विद्यालयको भवन निर्माणका क्रममा अनियमितता गरेको आरोपमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको हो । विद्यालय भवन निर्माणका लागि विनियोजन रकममा अनियमितता गरेको उजुरी अख्तियारमा परेको थियो ।

अख्तियारले अनुसन्धान गर्दा फिल्डमा हुँदै नभएको काम भएको भनेर रकम निकासा गरी २५ लाख ५० हजार भ्रष्टाचार गरेको पाइएको प्रवक्ता राजेन्द्रकुमार पौडेलले बताए । उनका अनुसार मुद्दामा जिशिअ नेपालसहित जिल्ला शिक्षा कार्यालय खोटाङका तत्कालीन इन्जिनियर बृधन यादव र सब इन्जिनियर शिवराज राई, तत्कालीन लेखा अधिकृत भुवनप्रसाद आचार्य र लेखापाल सुरेशकुमार श्रेष्ठलाई प्रतिवादी बनाइएको छ ।

त्यस्तै, श्री कृष्ण उच्च माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक खेमराज मगर, सोही विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम राई, हरिनारायण राई र विद्यालयको भवन निर्माण गर्ने व्यक्ति जयप्रसाद राईलाई विपक्षी बनाइएको छ । उनीहरूविरुद्ध २५ लाख ५० हजार बिगो र सजायको माग गरिएको अख्तियारले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.