रेलेखोला जलविद्युत् आयोजनाबाट परीक्षण उत्पादन

Share this
719shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ ३०, शुक्रबार १८:४४

म्याग्दी । ६ मेगावाट क्षमताको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको रेलेखोला जलविद्युत् आयोजनाले परीक्षण उत्पादन सुरु गरेको छ । ह्युम कन्सल्ट प्राली प्रवर्द्धक रहेको आयोजनाको भौतिक संरचना निर्माण सकेर परीक्षण उत्पादन शुरू गरेको हो ।

विद्युत् गृहमा रहेको दुईमध्ये एक वटा युनिट (टर्वाइन जेनेरेटर)को परीक्षण सफल भएको र अर्को युनिटको शुक्रबार परीक्षण सकिने आयोजनाका जनसम्पर्क अधिकृत होमनाथ पाण्डेले जानकारी दिए ।

खोपारा लेकको फेदी कालोखोलामा बाँध, ५०–५० मिटर लामा दुई वटा पानी थिग्राउने पोखरी, रेलेखर्कमा विद्युत् गृह निर्माण र बाँध देखि विद्युत् गृहसम्म तीन हजार छ सय मिटर लामो पाइपलाइन जडान गरेको छ ।

रेलेखर्कको विद्युत् गृह, स्विचयार्ड र दाना सबस्टेशन जोड्ने ३३ केभी क्षमताका पाँच किलोमिटर प्रसारण लाइन निर्माण भएको छ ।

यो आयोजनामा सुरूङ र नहरको विकल्पमा पाइपलाइन जडान गरिएको हो । पाँच सय पाँच मिटर माथिबाट विद्युत् गृहमा पानी खसालेर विद्युत् उत्पादन गर्ने संरचना निर्माण र उपकरण जडान भएको छ ।

विसं २०७९ मा निर्माण शुरू भएको आयोजनाको कालोखोलामा निर्माण भएको बाँध र इन्टेकमा २०८१ जेठ १५ गते आएको बाढीले क्षति पुर्‍याउँदा कार्यतालिका प्रभावित भएको जनसम्पर्क अधिकृत पाण्डेले बताए ।

एक अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको आयोजनामा हिमालयन र राष्ट्रिय वाणिज्य बैंकले ऋण लगानी गरेका छन् ।

यस आयोजनाले नारच्याङको बेशीगाउँ देखि लेकगाउँ हुँदै बाँध र विद्युत् गृह निर्माण स्थलसम्म १७ किलोमिटर पहुँचमार्ग बनाएको छ । आयोजनाको पहुँचमार्गबाट लेकगाउँका बासिन्दालाई पनि सुविधा पुगेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.