
काठमाडौं । अनलाइन ठगीमा परेका नेपालीहरु भारतमा बन्धक भएका छन् । सङ्गठित मानव तस्करीमा परेर भारतमा पुगेका सात सयभन्दा बढी नेपाली नागरिक बन्धक बनेका हुन् ।
बन्धक बनाइएका एक नेपाली युवाको कुटपिटबाट मृत्यु भएको छ । भारतको उत्तराखण्डस्थित उद्यमसिंहनगर र रुद्रपुरका विभिन्न स्थानमा सयौँ नेपाली नागरिकलाई बन्धक बनाएर ठगी गरिएको छ ।
ताप्लेजुङको फुङ्लिङ नगरपालिका–९ का २८ वर्षीय सोम लिम्बूको बन्धक अवस्थामा कुटपिटपछि मृत्यु भएको घटना बाहिरिएपछि यो तथ्य सार्वजनिक भएको हो ।
लिम्बूको मृत्युपछि उनीसँगै रहेका ताप्लेजुङकै अन्य दुई जना युवाले राति भागेर ताप्लेजुङ जिल्ला प्रशासनमा उजुरी हालेको प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । ताप्लेजुङ प्रशासनमा परेको निवेदन अनुसार करिब सात सय जना नेपाली त्यसरी बन्धक बनाइएका छन् । फसिनेमा पूर्वी नेपालदेखि सुदूरपश्चिम नेपालसम्मका नागरिक छन् ।
ताप्लेजुङकै २२ वर्षीय भाग्य लिम्बू र २० वर्षीय विजय लिम्बूलाई फेसबुक म्यासेन्जरमा ताप्लेजुङ मिक्वाखोला घर बताउने मन्त्री भान्जा र सुनसरी देउराली घर बताउने समीर राईले भारत रुद्रपुरमा कपडा पसलको हिसाबकिताब गर्दै बिल काट्ने काममा जागिर खुलेको र तलब पनि राम्रो रहेको भन्दै लिएर गएका थिए । भारत पुगेपछि उनीहरुलाई बन्धक बनाइएको थियो ।
बन्धक बनाइएका नेपाली नागरिक उद्धारका लागि भारतीय प्रहरी र सामाजिक संस्था आफन्त भारत (केआइएन इन्डिया) को सहयोगमा अभियान सुरु भयो । केआइएन इन्डियाका संयोजक इन्द्रराज भट्टराईका अनुसार उद्धार गर्न सजिलो छैन । पहिलो चरणमा गत शुक्रबार ३५ जना र आइतबार २२ जना गरेर हालसम्म ५७ जनाको उद्धार भएको छ ।



















