सेना प्रमुख फेरिए

मुलुकी खबर
मुलुकी खबर
clock२०८३ श्रावण ६, बुधबार ०८:०१

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सेना प्रमुख (कमाण्डर–इन–चिफ) ओलेक्सान्द्र सिस्र्कीलाई पदबाट हटाउँदै उनको स्थानमा जनरल मिखाइलो ड्रापातीलाई नियुक्त गरेका छन् ।

यो निर्णय केही दिनअघि मात्रै लोकप्रिय रक्षामन्त्री मिखाइलो फेदोरोभलाई हटाइएपछि देशभर चर्किएको विरोध प्रदर्शनका बीच आएको हो । फेदोरोभको बर्खास्तीपछि सिस्र्कीसँगको मतभेद नै यसको मुख्य कारण भएको चर्चा चलेको थियो । पछि विभिन्न स्रोतहरूले दुवैबीच सैन्य सुधारको विषयमा गम्भीर असहमति रहेको पुष्टि गरेका छन् ।

Advertisement

फेदोरोभलाई मन्त्रालयमा सुधार, सशस्त्र बलको आधुनिकीकरण र भ्रष्टाचार नियन्त्रणका लागि प्रशंसा गरिएको थियो भने सिस्र्कीलाई पुरानो शैलीको सैन्य नेतृत्वमा विश्वास गर्ने कमाण्डरका रूपमा आलोचना हुने गरेको थियो । नवनियुक्त सेना प्रमुख ड्रापाती युद्धको अनुभव भएका, युवा र नवीन सोचका सैन्य अधिकारीका रूपमा चिनिन्छन् ।

राष्ट्रपति जेलेन्स्कीले भिडियो सन्देशमार्फत सिस्र्कीले सन् २०२२ मा रूसको पूर्ण आक्रमणपछि राजधानी किभको रक्षा लगायत विभिन्न सैन्य अभियानमा दिएको योगदानको प्रशंसा गर्दै धन्यवाद व्यक्त गरेका छन् । जेलेन्स्कीले फेदोरोभसँग भेट गरी उनलाई सरकारभित्र सम्मानजनक जिम्मेवारी प्रस्ताव गरिएको जानकारी पनि दिएका छन् ।

उनले उक्त प्रस्ताव स्वीकार गरेका छन् वा छैनन् भन्ने खुलाइएको छैन । यसअघि फेदोरोभको स्थानमा युक्रेनको सुरक्षा सेवा (एसबीयू)का पूर्व अधिकारी येभहेनी ख्मारालाई कार्यवाहक रक्षामन्त्री बनाइएको थियो ।

फेदोरोभले ड्रापातीको नियुक्तिलाई स्वागत गर्दै यसलाई युक्रेनको स्वतन्त्रता र न्यायको संघर्षमा नयाँ आशाको सुरुवात बताएका छन् । उनले सिस्र्कीलाई पनि किभ क्षेत्रको रक्षा तथा अन्य महत्वपूर्ण सैन्य अभियानमा पुर्‍याएको योगदानका लागि धन्यवाद दिएका छन् । तर, अब पुराना कमजोरी सच्याएर अझ तीव्र गतिमा अघि बढ्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

यस वर्षको जनवरीमा मात्रै रक्षामन्त्री बनेका फेदोरोभले युद्ध सञ्चालनमा तथ्यांकको प्रयोग, ‘आर्मी अफ ड्रोन्स’ अभियान र ‘आईटी आर्मी अफ युक्रेन’ जस्ता नवप्रवर्तनात्मक कार्यक्रममार्फत अन्तर्राष्ट्रिय रूपमा समेत प्रशंसा पाएका थिए । उनलाई हटाइएपछि लगातार छ दिनसम्म देशका विभिन्न सहरमा प्रदर्शन भएको थियो ।

प्रदर्शनकारीहरूले सिस्र्कीलाई पनि हटाउन दबाब दिइरहेका थिए । ड्रापातीको नियुक्तिसँगै त्यो दबाबलाई जेलेन्स्कीले सम्बोधन गरेको विश्लेषण गरिएको छ ।

हाल कार्यवाहक रक्षामन्त्री ख्माराले जिम्मेवारी सम्हालिरहेका छन् । राष्ट्रपति जेलेन्स्कीले ख्मारा र ड्रापातीलाई सैन्य संरचनामा सुधार, हतियार आपूर्ति र ड्रोन रणनीति समेटिएको नयाँ रक्षा योजना तयार गर्न निर्देशन दिएका छन् ।

सिस्र्कीले भने आफ्नो पदबाट हटाइएपछि औपचारिक प्रतिक्रिया दिएका छैनन् । उनले केही दिनअघि प्रकाशित लेखमा फेदोरोभसँगको सम्बन्ध व्यावसायिक रहेको उल्लेख गर्दै कुनै गल्तीबाट दुःख पुगेको भए क्षमा चाहेका छन् । साथै, युद्धका जटिल निर्णयहरू नाराबाजीका आधारमा नभई वास्तविक अवस्था मूल्यांकन गरेर मात्रै लिन सकिने बताएका छन् ।

युक्रेनमा भने फेदोरोभलाई पुनः प्रभावकारी जिम्मेवारीमा ल्याउनुपर्ने माग अझै कायम छ । उनी फेरि निर्णायक भूमिकामा फर्किएमा सरकारमाथिको दबाब केही कम हुन सक्ने विश्लेषण गरिएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×