शिक्षाको संसारबाट कामको संसार’ कार्यक्रम राष्ट्रिय माविमा सुरु

Share this
744shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ११, बुधबार १९:२१

इटहरी । विद्यालयबाटै शिक्षालाई व्यवहारिक बनाएर स्वदेशमै काम गर्ने वातावरण तयार गर्न इटहरी– १ मा सञ्चालित राष्ट्रिय माध्यमिक विद्यालयमा ‘शिक्षाको संसारबाट कामको संसार’ कार्यक्रम सुरु भएको छ ।

यसका लागि बुधबार कक्षा १० का ३० जना विद्यार्थीको ५ वटा समूहमध्ये ३ वटा समूह चयन गरिएको छ ।

इन्सियुर / हेल्भेटास परियोजनाको सहयोगमा विद्यार्थीहरूलाई ‘शिक्षाको संसारमा स्थानान्तरणका लागि उद्यमशीलता सीप विकास कार्यक्रम’ अन्तर्गत व्यावसायिक योजना निर्माण तथा उत्कृष्ट समूहको घोषणा कार्यक्रममा ३ वटा समूह चयन गरिएको स्रोत शिक्षक युवराज काफ्लेले बताए ।

उनका अनुसार विद्यार्थीहरूले गर्ने कार्यको प्रस्ताव पेस गरी प्रस्तुतिका आधारमा चयन गरिएको हो ।

चयन भएका विद्यार्थीको प्रत्येक समूहलाई अब ७–७ हजार रुपैयाँ प्रदान गरिने छ । सो रकमबाट विद्यार्थीहरूले विद्यालय हाताभित्रै पढाइलाई कुनै असर नपर्ने गरी आम्दानी हुने कार्य गर्नेछन् ।

माध्यमिक विद्यालयका विद्यार्थीहरूमा उद्यमशीलता सम्बन्धी सीप, सिर्जनशीलता र नवप्रवर्तन क्षमताको विकास गरी व्यावसायिक योजना तयार गर्ने र कार्यान्वयनका लागि उत्प्रेरण प्रदान गर्ने मुख्य उद्देश्य राखेर यस्तो कार्यक्रम सुरु गरिएको प्रधानाध्यापक शरणकुमार बस्नेतले बताए ।

यसले विद्यार्थीलाई सैद्धान्तिक शिक्षासँगै व्यवहारिक ज्ञान पनि प्राप्त हुने र आयआर्जनसँग जोड्दा परनिर्भरता पनि हट्ने बस्नेतले बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.