‘गाजामा ३ मध्ये १ जना भोकै, ९० हजार महिला–बालबालिका कुपोषणको उच्च जोखिममा’

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ श्रावण १०, शनिबार १३:३१

काठमाडौं । संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले गाजा क्षेत्रमा भोकमरी अत्यन्त भयावह रूपमा फैलिएको चेतावनी दिएको छ ।

डब्ल्यूएफपीका अनुसार गाजामा अहिले प्रत्येक ३ जनामध्ये १ जनाले केही दिनदेखि खाना पाएका छैनन् । एजेन्सीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुपोषणको अवस्था तीव्र रूपमा फैलिएको छ । करिब ९० हजार महिला तथा बालबालिकालाई तत्काल पोषण र उपचारको आवश्यकता छ । उनीहरु उच्च जोखिममा छन् ।’

Advertisement

डब्ल्यूएफपीले गाजामा यस हप्ताबाट भोकमरीको संकट अझै गहिरिँदै गएको उल्लेख गरेको छ । गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो केही दिनमा मात्रै कुपोषणका कारण थप ९ जनाको ज्यान गएको छ ।

मन्त्रालयको भनाइ अनुसार इजरायल–हमास युद्ध सुरु भएदेखि अहिलेसम्म कुपोषणका कारण मृतकको संख्या १ सय २२ पुगेको छ । इजरायलले भने गाजाको भोकमरीका लागि हमासलाई नै दोष दिएको छ ।

उसले हमासले मानवीय सहायता र खाद्य वितरणमा अवरोध गरिरहेको आरोप लगाउँदै आएको छ । त्यसैगरी इजरायल सरकारले भने गाजा क्षेत्रमा सहायता पुर्याउन अवरोध नगरेको दाबी गरेको छ ।

तर, संयुक्त राष्ट्रसंघ र विभिन्न अन्तर्राष्ट्रिय एजेन्सीहरूले इजरायलले गाजामा प्रवेश गर्ने नाका सीमित बनाएको, अनुमति प्रक्रिया ढिलो गरिरहेको तथा सहायता गाडीहरूलाई व्यापक रूपमा छानबिनका नाममा रोक लगाउने जस्ता कदम चालिरहेकाले खाद्य संकट बढेको जनाएका छन् ।

हमासद्वारा सञ्चालित मन्त्रालयका अनुसार २०२३ अक्टोबर ७ मा इजरायल–हमासबीच युद्ध सुरु भएपछि गाजामा ५९ हजारभन्दा बढी मानिस मारिएका छन् । संयुक्त राष्ट्रसंघीय स्रोतहरूका अनुसार लाखौँ मानिस गाजामा पूर्ण रूपमा बमबारुद प्रभावित क्षेत्रमा फसेका छन् । जहाँ खानेपानी, औषधि र पोषिलो खाना पाइँदैन ।

गाजाको जनसंख्या करिब २३ लाख हाराहारी छ । यसमध्ये अधिकांश अहिले आन्तरिक रूपमा विस्थापित भएका छन् ।

विश्व खाद्य कार्यक्रमले तत्काल युद्धविराम गरी अवस्थालाई सहज बनाउनुपर्ने, सहयोग जारी राख्नुपर्ने, कुपोषण नियन्त्रणका लागि चिकित्सा सहायता विस्तार गर्नुपर्ने र खाद्य आपूर्ति सुरक्षाका लागि सशक्त कदम चालिनुपर्ने उल्लेख गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.