
रंगेली । मोरङको रंगेली नगरपालिका–५ स्थित सीमा क्षेत्रबाट सशस्त्र प्रहरी बलले अवैध रूपमा नेपाल भित्र्याइँदै गरेको ७० वटा ब्रोइलर कुखुरा र भारतीय नम्बर प्लेटको मोटरसाइकल बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म, हेडक्वार्टर सोराभाग मोरङबाट सशस्त्र प्रहरी नायब निरीक्षक पुष्पप्रसाद न्यौपानेको कमाण्डमा खटिएको मोबाइल गस्ती टोलीले भारतबाट नेपालतर्फ ल्याइँदै गरेको अवस्थामा बीआर ३८ एपी १५७१ नम्बरको मोटरसाइकल रोकेर जाँच गर्दा उक्त कुखुरा फेला परेको हो । प्रहरीलाई देख्नासाथ मोटरसाइकल चालक कुखुरा र मोटरसाइकल छाडेर फरार भएको जनाइएको छ ।
बरामद मोटरसाइकलको अनुमानित मूल्य १ लाख ५० हजार र करिब १८० किलोग्राम (७० वटा) ब्रोइलर कुखुराको मूल्य ५४ हजार गरी कुल २ लाख ४ हजार बराबरको सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ । बरामद कुखुरा आवश्यक प्रक्रिया पूरा गरी नष्ट गरेर मोटरसाइकल थप कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको छ ।

























