
विराटनगर । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले युवा (जेन्जी) पुस्तालाई पार्टीसँग जोड्न नसके कांग्रेसको भविष्य नै धरापमा पर्ने खतरा रहेको बताएका छन् ।
विराटनगरमा नेपाली कांग्रेस विराटनगर महानगर वार्ड नं.४ कार्य समितिले आयोजना गरेको क्रियाशील ज्येष्ठ नागरिक सम्मान समारोहलाई सम्बोधन गर्दै नेता कोइरालालले कांग्रेस कमजोर भए लोकतन्त्र पनि कमजोर हुने बताएका हुन् ।
नेता कोइरालाले बलियो कांग्रेसले मात्र लोकतन्त्रको जगेर्ना गर्न सक्ने बताउँदै बलियो कांग्रेस बनाउन जेन्जी पुस्तालाई पार्टीसँग जोड्नुपर्नेमा जोड दिए । उनले लोकतन्त्र बिना नेपाली जनता बाँच्न नसक्ने स्पष्ट पारे ।
उनले राजनीतिप्रति युवाहरूको वितृष्णा रहेको भन्दै कोइरालाले यो वितृष्णालाई आकर्षणमा बदल्नु अहिलेको मुख्य चुनौती रहेको बताए ।
लोकतन्त्रको स्थायित्व र देशको विकासका लागि कांग्रेसको भूमिकाबारे युवालाई बुझाउनु जरुरी रहेको उनको भनाइ थियो ।
नेता कोइरालाले पार्टीको आन्तरिक प्रतिस्पर्धाको ‘इगो’का कारण स्थानीय, प्रदेश र संघको चुनावमा कांग्रेसलाई हराउन कांग्रेस नै लाग्ने गरेको धारणा राखे ।
उनले कांग्रेसले कांग्रेसलाई भोट दिए कुनै पनि निर्वाचनमा कांग्रेसले नहार्ने स्पष्ट पारे । जीवन्त र लोकतान्त्रिक पार्टीमा आन्तरिक प्रतिस्पर्धा हुने बताउँदै कोइरालाले एमाले र अन्य पार्टीहरूसँगको प्रतिस्पर्धामा कांग्रेस एकढिक्का हुनुपर्नेमा जोड दिए ।
नेता कोइरालाले पार्टी सभापति शेरबहादुर देउवालाई सबैको अभिभावक हुन सुझावसमेत दिए । उनले देउवालाई अन्य पार्टीका नेताहरूलाई घरमै बोलाएर चिया खुवाउने र देशमा देखिएका समस्याबारे छलफल गर्न सुझाव दिएको थिए ।
कार्यक्रममा राष्ट्रियसभाका पूर्व सदस्य रमेशजंग रायमाझी, नेपाली कांग्रेस कोशीका सहमहामन्त्री डा. प्रमिला गच्छदार, कोशीका पूर्व मुख्यमन्त्री केदार कार्कीलगायतका नेताहरूले देशको हरेक राजनीतिक परिवर्तनको नेतृत्व गरेको कांग्रेसले अब आर्थिक परिवर्तनको नेतृत्व लिनुपर्नेमा जोड दिए ।
उनीहरूले कांग्रेसभित्रको वैमनस्यताले विगतमा धेरै स्थानमा कांग्रेस पराजित हुनुपरेको स्मरण गर्दै अब पार्टीलाई सबै एक भएर अघि बढाउँदै आगामी चुनावमा सबै स्थानमा कांग्रेसलाई जिताउन लाग्नुपर्नै बताए ।
सो अवसरमा ७२ वर्ष उमेर पार गरेका १० जना ज्येष्ठ क्रियाशील सदस्यहरू नखबहादुर खड्का, सुरेश तिम्सिना, सियाराम मण्डल राजवंशी, तेतरी राजवंशी, कृष्णमोहन कार्की, मणिराज निरौला, दुखाराम गच्छदार, साजीलाल माझी, थिरबहादुर नेपाली र हेमनारायण चौधरीलाई सम्मान गरिएको थियो ।

























