सरकारसँग सहमतिपछि दिक्तेलका मेयरले तोडे अनशन

Share this
700shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन १८, आइतबार २०:१३

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलामा अनशनमा बसेका खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले आइतबार (आज) अनशन तोडेका छन् ।

अनशनरत मेयर भट्टराई र सरकारबीच १६ बुँदे सहमति भएपछि अनशन तोडेका हुन् ।

सहमतिमा बाँस, स्वदेशी काठ वा यस्तै नेपालमा उत्पादित स्वदेशी वस्तु वा सामग्री खरिद गर्ने, पहिलो चरणमा वन तथा वातावरण मन्त्रालयअन्तर्गतका सबै निकायमा अब आइन्दा प्राथमिकताका साथ स्वदेशी वस्तुको खरिद र प्रयोग बढाउने, नेपाल सरकारबाट स्वीकृत निर्देशिका तदारुकताका साथ कार्यान्वयन गरिने भएको छ।

त्यस्तै, वन्यजन्तुबाट भएको क्षतिको राहत वितरण निर्देशिका, २०८० को प्रभावकारी कार्यान्वयन गरी जनधनको क्षतिको राहत वितरणलाई थप सरल, सहज, पारदर्शी र प्रभावकारी रूपमा कार्यान्वयन गर्ने, बाँदरको बन्ध्याकरण लगायतका न्यूनीकरण उपायहरूको अध्ययन गरी पाइलटिङको रूपमा बाँदर, बन्ध्याकरण र अन्य न्यूनीकरणका उपायहरूका बारेमा विज्ञसँग परामर्श लिई खोटाङ जिल्लाबाट यसै आर्थिक वर्षमा सुरुवात गरी प्राप्त परिणामका आधारमा देशभरि कार्यान्वयन गर्ने सहमति भएको हो ।

बाँस तथा बेतको अध्ययन अनुसन्धानमा जोड दिने, रैथाने एवम् परम्परागत ज्ञान । सीप र कलाको संरक्षण तथा प्रवर्द्धन गर्ने, सरोकारवालाहरूलाई प्रविधि, पूर्वाधार र प्राविधिक ज्ञान र सीप विकासका लागि क्षमता अभिवृद्धि गर्ने, प्रचारप्रसार, बजारीकरणमा सहयोग, मेला, प्रदर्शनी र ट्रेड फेयर आदिमा सहभागी गराउने र अन्य प्रोत्साहनसहितका कार्यक्रम ३ तहका सरकारले सञ्चालन गर्ने, गराउने पनि सहमति पत्रमा उल्लेख छ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.