भाषा सम्बन्धी विधेयक : गैरसरकारी विधेयकको विपक्षमा उभिन सत्तापक्षको ह्वीप 

Share this
703shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन २२, बिहीबार १४:००
भाषा सम्बन्धी विधेयक : गैरसरकारी विधेयकको विपक्ष उभिन सत्तापक्षको ह्वीप 

विराटनगर । काेशी प्रदेशसभामा प्रतिपक्षी दलले दर्ता गरेको  ‘कोशी प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ को विपक्षमा उभिन सत्ता पक्षले ह्वीप जारी गरेको छ ।

लिम्बू र मैथिली भाषालाई कामकाजको भाषा बनाउन माग गर्दै प्रतिपक्षले गत फागुन २८ गते दर्ता गरेको विधेयक आज (बिहीबार) टेबल हुँदैछ । प्रदेशसभा बैठकमा टेबल हुने विधेयकको विपक्ष उभिन सत्ता पक्षले ह्वीप नै जारी गरेको हो ।

नेपाली कांग्रेसका प्रमुख सचेतक गोपाल तामाङका अनुसार संसद बैठकमा उपस्थित भएर  ‘कोशी प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ विधेयकको विपक्षमा उभिन ह्वीप जारी भएको छ ।

सरकारले  भाषा सम्बन्धी विधेयक पेश गर्ने भएका कारण गैरसरकारी विधेयकको विपक्षमा उभिने उनले बताए ।

भाषा आयोगको कोशी प्रदेशमा लिम्बू र मैथिली भाषालाई सरकारी कामकाजको भाषा बनाउन सिफारिस गरेको थियो ।

आयोगको सिफारिस अनुसार लिम्बू र मैथिलीलाई सरकारी कामकाजको भाषा बनाउन माग गर्दै नेकपा माओवादी केन्द्रका सांसद गोम्बु शेर्पा र एकीकृत समाजवादी सांसद खिनु लङ्वा लिम्बूले  ‘कोशी प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ गत फागुनमा दर्ता गरेका थिए ।

गत शुक्रबार प्रदेश मन्त्रिपरिषद् बैठकले  ‘कोशी प्रदेशमा सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८२’ लाई प्रदेशसभामा पेश गर्न स्वीकृति दिएको थियो ।

प्रतिपक्षीले दर्ता गरेको गैरसरकारी विधेयकलाई अस्वीकृत गरेर सरकारी विधेयक पास गर्ने तयारी गरेको सत्ता पक्षले पास गरेपछि ऐन कात्तिक २५ गते फाल्गुनन्द जयन्तीको अवसर पारेर लागू गर्ने तयारी गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.