
विराटनगर । विराटनगरको आर्या न्यूरो हस्पिटलले मस्तिष्कघात (स्ट्रोक) को ‘थ्रोम्बोलाइसिस’ प्रविधिको प्रयोग गरेर एक जना बिरामीको सफल उपचार गरेको छ ।
अस्पतालले पहिलो पटक अत्याधुनिक ‘थ्रोम्बोलाइसिस’ प्रविधि प्रयोग गरी तेह्रथुमकी ४५ वर्षीया चन्द्रमाया श्रेष्ठलाई पक्षाघातबाट जोगाउन सफल भएको हो ।
अस्पतालका वरिष्ठ न्यूरो सर्जन तथा अस्पतालका प्रबन्ध निर्देशक डा. पंकजराज नेपाल नेतृत्वको टोलीले यो जटिल उपचार सफलतापूर्वक सम्पन्न गरेसँगै कोशी प्रदेशमा आकस्मिक न्यूरो उपचारले नयाँ गति लिएको छ ।
भेडेटारबाट धनकुटातर्फ जाँदै गरेको यात्रुवाहक बसमा रहेकी चन्द्रमायाको यात्राकै क्रममा अचानक शरीरले काम गर्न छाड्यो, बोली लरबरायो र उनी बेहोस भइन् ।
यही समयमा बसमा सवार अन्य यात्रु र चालक र सहचालकको सचेतताले चन्द्रमायाको जीवन बचाउन निर्णायक भूमिका खेल्यो । साधरणतया यस्तो अवस्थामा के गर्ने भन्ने अन्योल हुन्छ ।
तर, उनीहरूले अवस्थाको गम्भीरता बुझे । कसैले मस्तिष्कघातको उपचार समयमै विशेषज्ञ अस्पतालमा पुर्याउँदा सम्भव हुने जानकारी दिएपछि उनीहरूले तत्काल गाडी फर्काएर विराटनगरस्थित आर्या न्यूरो अस्पताल ल्याए ।
यो घटनाबारे बताउँदै डा. नेपालले भने, ‘सचेतनाको एउटा सानो पहलले कति ठुलो फरक पार्छ भन्ने यो एक उत्कृष्ट उदाहरण हो । सामान्यतया हाम्रो समाजमा पक्षाघात हुँदा १ / २ दिन घरमै हेर्ने वा अन्यत्र अलमलिने चलन छ । जसले गर्दा उपचारको सबैभन्दा महत्त्वपूर्ण समय (सुनौलो समय) गुम्छ । तर, चन्द्रमायाको केसमा बसका मानिसहरूले देखाएको तत्परता र सही निर्णयले गर्दा उहाँलाई समयमै हामीसम्म आइपुग्न मद्दत मिल्यो ।’
जब चन्द्रमायालाई हस्पिटल ल्याइयो, डा. नेपाल र उनको आकस्मिक उपचार टोली पूर्ण तयारी अवस्थामा थियो । मस्तिष्कघातको उपचारमा प्रत्येक मिनेट महत्त्वपूर्ण हुन्छ ।
अस्पताल ल्याइ पुर्याउँदा करिब ४ घण्टा बितिसकेको थियो । ‘हामीले बिरामी आइपुगेको ३० मिनेटभित्रै सबै आवश्यक परीक्षणहरू सम्पन्न गर्यौँ । सीटी स्क्यानबाट मस्तिष्कमा रक्तस्राव नभएको र रगतको थेग्लो जमेर रक्त नली बन्द भएको (स्ट्रोक) पुष्टि भयो । यो अवस्थामा ‘थ्रोम्बोलाइसिस’ नै एक मात्र विकल्प थियो । हामीले तुरुन्त उपचार सुरु गर्यौँ ,’ डा. नेपालले घटनाको संवेदनशीलता बताउँदै भने ।
‘थ्रोम्बोलाइसिस’ एक विशेष चिकित्सा प्रक्रिया हो, जसमा औषधिको माध्यमबाट मस्तिष्कको रक्त नलीमा जमेको रगतको डल्लोलाई पगालिन्छ ।
यो प्रक्रिया पक्षाघात भएको साढे ४ घण्टाभित्र गर्न सकेमा मात्र प्रभावकारी हुन्छ । यो समयभित्र उपचार गर्न सकेमा मस्तिष्कका कोशिकाहरूलाई मर्नबाट जोगाउन सकिन्छ र बिरामीको अवस्थामा चमत्कारी सुधार ल्याउन सकिन्छ ।
डा. नेपाल भने, ‘यो उपचारपछि चन्द्रमायाको अवस्थामा सुधार आयो । उहाँको लगभग पूर्ण रूपमा प्यारालाइसिस भइसकेको शरीरका अंगहरू चल्न थाले । बोली फर्कियो । केही भागमा असर बाँकी रहे पनि त्यो समयको थोरै तलमाथिले हुन सक्छ । तर सबैभन्दा ठुलो कुरा, हामीले उहाँको ज्यान जोगायौँ र उहाँलाई जीवनभर अपांग हुनबाट बचायौँ ।’
श्रीमतीको सफल उपचारपछि वीरबहादुर श्रेष्ठको अनुहारमा खुसी छाएको देखिन्थ्यो । उनी त्यो दिन आफ्नो बिरामी छोरीको उपचारका लागि धरानमा थिए ।
उनले भने, ‘म छोरीलाई लिएर काठमाडौं जाने तयारीमा थिएँ, त्यही बेला श्रीमती बसमा बेहोस भएको खबर आयो । म छाँगाबाट खसेझैँ भएँ । बाटोबाट फर्किए । हामीलाई कसैले आर्या न्यूरो हस्पिटलमा राम्रो उपचार हुन्छ भनेर सुझाएपछि यहाँ ल्यायौँ । डाक्टरहरूले श्रीमतीलाई नयाँ जीवन दिनुभएको छ । उहाँ अहिले बोल्न सक्ने हुनुभएको छ । बुधबार डिस्चार्ज पनि भयो । म सम्पूर्ण अस्पताल परिवार र डा. पंकजराज नेपालप्रति हार्दिक आभारी छु ।’
आर्या न्यूरो हस्पिटलमा यो प्रविधिको सफल सुरुवातले अब कोशी प्रदेश र आसपासका बिरामीहरूले पक्षाघातको अत्याधुनिक उपचारका लागि काठमाडौं वा विदेश धाइरहनुपर्ने बाध्यताको अन्त्य गरेको छ ।
यसले यस क्षेत्रको चिकित्सा सेवामा एक नयाँ अध्याय थपेको छ र हजारौं बिरामीका लागि आशाको किरण बनेको अस्पतालका प्रबन्धक निर्देशक दिनेश ठाकुरले बताए ।
मस्तिष्कघात २ प्रकारको हुन्छ । इस्केमिक (रगत जमेर) र हेमोरेजिक (रक्त नली फुटेर) । लगभग ८५ प्रतिशत मस्तिष्कघात इस्केमिक प्रकारका हुन्छन् ।
यस्तो अवस्थामा मस्तिष्कमा अक्सिजन र पोषण आपूर्ति बन्द हुँदा मस्तिष्कका कोशिका मर्न थाल्छन्, जसले गर्दा शरीरका अंगहरू चल्दैनन्, बोली हराउँछ र अनुहार बांगो हुन्छ ।
थ्रोम्बोलाइसिस यस्तो उपचार पद्धति हो । जसले जमेको रगतलाई पगालेर रक्त प्रवाह पुनः सुरु गराउँछ । यो अन्य उपचार विधिको तुलनामा छिटो, प्रभावकारी र तुलनात्मक रूपमा सस्तो पनि छ । तर, यसको सफलताको एक मात्र सर्त भनेको समय हो ।
डा. नेपाल सबैलाई आग्रह गर्छन्, ‘यदि कसैमा अचानक शरीरको एक भाग कमजोर हुने, बोल्न गाह्रो हुने, अनुहार बांगो हुने, हिँड्न अप्ठ्यारो हुने जस्ता लक्षण देखिएमा एक सेकेन्ड पनि ढिला नगरी तुरुन्तै सुविधा सम्पन्न न्यूरो अस्पतालमा पुर्याउनुहोस् । तपाईंको सानो प्रयासले कसैको जीवन बच्न सक्छ ।’

























