
काठमाडौं । नेपालले साउदी अरेबियामाथि १–० को संघर्षपूर्ण जित निकालेको छ ।
भुटानको थिम्पुमा जारी एएफसी यू– २० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा साउदी अरेबियालाई हराएको हो ।
थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलकाे निर्धारित समय सकिनै लाग्दा ९० औं मिनेटमा शुक्रिया मियाँले नेपाललाई जित दिलाइन् । उनले मिना देउवाको पासमा गोल गरिन् ।
खेलमा साउदीले नेपालविरुद्ध केही राम्रा अवसरहरू बनाएपनि गोल भने गरेको थिएन । नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १–१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । साउदी अरेबियाले भने उत्तर कोरियासँग १५–० को फराकिलो हार बेहोरेको थियो ।
पहिलो खेलमा बराबरी खेलेपछि नेपाली टोली समूहविजेता बन्ने सम्भावनामा धक्का लागिसकेको छ । बलियो टोली उत्तर कोरियासँग नेपालले खेल्न बाँकी छ । खेल आइतबार हुनेछ ।



















