
विराटनगर । विश्व स्तनपान सप्ताहको अवसरमा विराटनगरको कोशी अस्पतालले सप्ताहव्यापी स्तनपान सम्बन्धी जनचेतनामूलक कार्यक्रमको आयोजना गरेको छ ।
अस्पतालका स्वास्थ्य कर्मचारीले नवजात शिशुलाई जन्म दिएका आमाहरूलाई स्तनपानको महत्व र स्तनपान गराउने सही तरिकाबारे सिकाउँदै जनचेतना अभिवृद्धि गरेका छन् ।
अगस्ट १ तारेखदेखि विभिन्न कार्यक्रमको आयोजना गर्दै स्तनपान दिवस मनाइएको छ ।
अस्पतालका नर्सहरूले स्तनपान सप्ताहमा स्तनपानलाई प्राथमिकतामा राख्दै दिगो र सहयोगी वातावरण निर्माण गर्ने उद्देश्यले विभिन्न कार्यक्रमको आयोजना गरिएको वरिष्ठ नर्सिङ निरीक्षक लजिता योञ्जनले जानकारी दिइन् ।
उनले स्थानीय समुदायमा जनचेतना अभिवृद्धि गराउने उद्देश्यले आयोजना गरेको सप्ताहव्यापी कार्यक्रममा पूर्व प्रसूति, प्रसूति तथा स्तनपान गराइरहेका आमाहरू, सेवाग्राही र उनीहरूका परिवारलाई समेत स्तनपानको महत्व र स्तनपान गराउने तरिकाबारे जानकारी गराएको बताइन् ।
कार्यक्रममा बोल्दै अर्की नर्सिङ निरीक्षक अन्जु खनालले आमाको दुध शिशुका लागि अमृत समान र जीवनकै पहिलो खोप भएकाले बिगौती दुध शिशुलाई खुवाउनु पर्नेमा जोड दिइन् ।
आमाको दुधमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता बढाउने तत्त्वहरू प्रशस्त हुने भएकाले ६ महिनासम्म आमाको दुध र त्यसपछि आमाको दुधका साथै अन्य खानेकुरा थप्दै जानु पर्नेमा खनालले बताइन् ।
नेपालमा शिशु जन्मेको १ घण्टाभित्र स्तनपान गराउने आमाहरूको संख्या ५५ प्रतिशत रहेको छ भने शिशु जन्मेको ६ महिनाभित्र स्तनपान गराउनेको संख्या ५६ प्रतिशत र बालबालिकालाई कम्तीमा २ वर्षसम्म स्तनपान गराउनेको संख्या ९४ प्रतिशत रहेको देखिन्छ ।
पछिल्लो समय स्तनपान गराउने आमाहरूको संख्यामा कमी आएकाले आमा र बच्चा दुवैमा विभिन्न प्रकारको समस्या देखिएको भन्दै स्तनपान नियमित गराउनु पर्नेमा स्वास्थ्यकर्मीहरूले जोड दिएका छन् । नेपालमा सन् १९९२ देखि विश्व स्तनपान सप्ताह मनाउँदै आएको छ ।

























