
चितवन । नेपाली गीत, गजल र साहित्य क्षेत्रमा छुट्टै परिचय बनाएका गीतकार तथा साहित्यकार प्रेमविनोद श्रेष्ठ ‘नन्दन’को निधन भएको छ ।
उपचारका क्रममा चितवन मेडिकल कलेजमा आइतबार राति ९ः२५ बजे उनको निधन भएके हो । ९० वर्षको उमेरमा दिवंगत भएका नन्दन लामो समयदेखि क्यान्सर रोगबाट पीडित थिए ।
नारायणी कला मन्दिरका पूर्वअध्यक्ष तथा सल्लाहकार समेत रहेका नन्दनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि सोमबार नारायणी कला मन्दिरमै राखिने बताइएको छ । कला मन्दिरका पूर्वअध्यक्ष सहनलाल प्रधानका अनुसार नन्दनले चितवनको सांस्कृतिक चेतना र सिर्जनशील वातावरणलाई नजिकबाट नेतृत्व दिएका थिए ।
तनहुँको ऐतिहासिक गाउँ बन्दिपुरमा जन्मिएका नन्दनले युवावस्थामा केही समय गोरखाको आरुघाटमा व्यापार व्यवसायसमेत गरेका थिए । त्यसपछि २०१९ सालमा उनी नारायणगढ झरे र नारायणी कला मन्दिरसँग आबद्ध हुँदै नाटक अभिनय र लेखनमा सक्रिय बने । उनी नेपाली नाट्यकला र साहित्यको संगमस्थल मानिने चितवनको सांस्कृतिक जग निर्माणमा अग्रमोर्चामा रहे ।
गीत–संगीतमा समेत उल्लेख्य योगदान पुर्याएका नन्दनका गीतहरूमा नातिकाजीले संगीत दिएका छन् भने उनका धेरै रचनाहरू नेपाली चलचित्रका गीतका रूपमा पनि लोकप्रिय बनेका छन् । कलाकार रिद्धिचरण श्रेष्ठका अनुसार नन्दनलाई चितवनमा गजल दोहोरीको जन्मदाता मानिन्छ । उनका झट्कारो, अञ्जली, सपनीबाट ब्युँझेर, विपिनका पाइलाहरू, ऐनाभित्रको आकाशजस्ता गीति–संग्रह प्रकाशित छन् । जसले उनलाई नेपाली गीत–साहित्यमा सशक्त स्थान दिलाएको छ ।
सिर्जनशीलताका लागि उनले छिन्नलता सम्मान लगायत दर्जनौं पुरस्कार र सम्मान प्राप्त गरेका थिए । आफ्नो जीवनभर कला, साहित्य र समाजसेवामा सक्रिय रहेका नन्दनका श्रीमतीसहित ३ छोरा र ३ छोरी छन् ।
चितवनको साहित्यिक–सांस्कृतिक वृतले उनलाई एक असल गीतकार, संवेदनशील साहित्यकार र सक्रिय रंगकर्मीको रूपमा स्मरण गर्ने साहित्यिक एवं सांस्कृतिक क्षेत्रका अग्रजहरु बताउँछन् । नन्दनको निधनले चितवन मात्र नभई समग्र नेपाली कला–साहित्य क्षेत्रले ठूलो क्षति बेहोरेको उनीहरुको भनाइ छ ।























