‘हिमालको शिर जत्तिकै उचाइमा शेर्पाको चुनौती’

Share this
692shares
मुलुकी खबर
सुजता लिम्बू
clock२०८२ भदौ १३, शुक्रबार १७:२६

विराटनगर । पर्वतीय पर्यटन व्यवसायको छाता संस्था नेपाल पर्वतारोहण सघं (एनएमए)मा फुरगेल्जे शेर्पा अध्यक्ष पदमा निर्वाचित भएसँगै हिमालमा आफ्नो भविष्य देख्नेहरूका आँखामा नयाँ सपना र अपेक्षाका किरणहरू चम्किएका छन् ।

भदौ ८ गतेको निर्वाचनले ल्याएको यो नयाँ नेतृत्वबाट आरोहीहरू, पथप्रदर्शकहरू र हिमालसँग जोडिएका हरेक श्रमिकले धेरै अपेक्षा राखेका छन् ।
‘मुलुकी खबर’को ‘हिमालको कुरा’ स्तम्भमा हामीले यसै क्षेत्रमा काम गरिरहेकाहरूसँग उनीहरूका मनका कुरा बुझ्ने प्रयास गरेका छौँ ।

नवगठित कार्यसमितिको अगाडि चुनौतीका चाङहरू छन् । ५० वर्ष पुगिसकेको पर्वतारोहण संघले अब कसरी काम गर्छ, त्यो हेर्न बाँकी रहेको उनीहरु बताउँछन् ।

आरोहीहरूको संख्या घट्दै गएको चिन्ता व्याप्त रहेको सगरमाथा आरोही पासाङ भोटे बताउँछन् । उनको भनाइ अनुसार सुरक्षा, रोजगारीको ग्यारेन्टीतर्फ राज्यको उचित सम्बोधन नहुँदा श्रमिकहरू पलायन भइरहेका छन् ।

‘बिमाका समस्याहरूले पनि यस क्षेत्रका मानिसहरूलाई पिरोलेको छ । मुख्य कुरा त रोजगारीको ग्यारेन्टी र सुरक्षाका विषयमा एनएमएले कस्तो नीति ल्याउँछ भन्ने हो । उनी भन्छन्, ‘पर्यटन ऐनमा हिमाल रोयल्टीलाई समावेश गरी हिमालबाट आउने आम्दानीलाई पर्वतारोही र शेर्पाहरूको रोजगारीको सुरक्षाको ग्यारेन्टीको विषयमा लगाउनु पर्ने माग छ ।’

यता, नेपाल राष्ट्रिय पर्वतारोहण पथ प्रदर्शक संघका अध्यक्ष तुलसी गुरुङले १९१७ देखि चल्दै आएको पर्वतारोहणसम्बन्धी तालिमलाई निरन्तरता दिँदै अन्तर्राष्ट्रिय स्तरको ‘माउन्टेन गाइड’ उत्पादन गर्नुपर्नेमा जोड दिए । विगतका परम्परागत कार्यक्रमभन्दा नयाँ र प्रभावकारी कार्यक्रमको खाँचो रहेको उनको भनाइ छ ।

उनी भन्छन्, ‘पर्वतारोही सम्बन्धी रोकिएको तालिम सञ्चालनमा ल्याउन पनि नयाँ नेतृत्वलाई हाम्रो माग छ । किनकि त्यही तालिमले अन्तर्राष्ट्रिय माउन्टेन गाइड उत्पादन गर्छ ।’ नेपाल पर्वतारोही कल्याणकारी कोष स्थापना गरी ६० वर्ष पुगेका आरोहीहरूलाई पेन्सन भत्ता, अंगभंग भएकाहरूको परिवारका लागि शिक्षा र स्वास्थ्यको ग्यारेन्टी र अवकाशपछि पेन्सनको व्यवस्था हुनुपर्नेमा गुरुङको जोड छ ।

असहाय आरोहीहरूका लागि होस्टल र पर्वतारोहणसम्बन्धी पुस्तकालयको आवश्यकता पनि उनले औंल्याए । आरोहीहरूलाई पेसाकर्मीका रूपमा वर्गीकरण गरी उनीहरूका लागि विभिन्न कार्यक्रमहरू आयोजना गर्नुपर्ने र गाइडहरूका लागि पनि सुरक्षाको हिसाबले थप तालिम आवश्यक रहेको उनले बताए ।

नयाँ नेतृत्वबाट ठूला अपेक्षा रहेको बताउँदै उनले विशेष गरी पथप्रदर्शकहरूको हकहित र सुरक्षामा ध्यान दिनुपर्नेमा जोड दिए । ‘नयाँ नेतृत्वले यी सबै चुनौती र अपेक्षाहरूलाई कसरी सम्बोधन गर्छ । त्यो त समयले नै बताउला,’ गुरुङ भन्छन् ।

तर, हिमालको काखमा जीवनको खोजी गर्ने हिमालका श्रमिकहरूको आशाको दियो निभ्न नहुनेमा उनीहरुको जोड छ । पछिल्लो समय जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारेको असरसँगै आरोही र शेर्पाहरूको पेसामा गहिरो संकट निम्तिएको छ । यस जटिल परिस्थितिमा सरकारका साथै नयाँ नेतृत्वको काँधमा पनि उत्तिकै महत्त्वपूर्ण जिम्मेवारी थपिएको छ ।

नेपाल पर्वतारोहण संघका नवनिर्वाचित अध्यक्ष फुरगेल्जे शेर्पाको नेतृत्वमा हिमालको शिर जत्तिकै अग्ला र चुनौतीपूर्ण जिम्मेवारीहरू आएका छन् । पर्वतारोहण क्षेत्रको संरक्षण, आरोही तथा शेर्पाहरूको हकहित सुनिश्चित गर्दै जलवायु परिवर्तनका चुनौतीहरूको सामना गर्न उनको भूमिका महत्त्वपूर्ण हुनेमा आरोहीहरुको जोड छ ।

उनीहरु भन्छन्, ‘हामी विश्वस्त छौँ कि अध्यक्ष शेर्पाले यी गहन जिम्मेवारीहरूलाई आफ्नो अनुभव, दूरदर्शिता र कुशल नेतृत्व क्षमताका साथ सफलतापूर्वक निर्वाह गर्नेछन् ।’ उनीहरुका अनुसार नेपाल पर्वतारोहण संघ अहिले एउटा निर्णायक मोडमा उभिएको छ ।

५० वर्ष पुरानो संस्थाले आफ्नो भूमिका अझै विश्वसनीय बनाउन सकेको छैन । तर, फुरगेल्जे शेर्पाको नेतृत्वमा नयाँ पुस्ताको सपना र पुरानो पुस्ताको पीडा दुवै बोकेको संघले हिमालको भविष्य सुरक्षित गर्न सक्ने अवसर पाएको छ ।

पर्वतारोहण क्षेत्र अब आरोहणमा सीमित छैन । यो श्रमिकको जीवन, पर्यटनको अर्थतन्त्र, वातावरणको संरक्षण र अन्तर्राष्ट्रिय छविसँग प्रत्यक्ष जोडिएको विषय बनेको छ । नयाँ नेतृत्वले यी सबै प्रश्नलाई सम्बोधन गर्न सके मात्र हिमालसँगको नेपाली सम्बन्ध सुरक्षित हुने आरोहीहरु बताउँछन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.