
काठमाडाैं । भारत र चीनले लिपुलेक हुँदै व्यापर गर्ने सम्झाैताप्रति नेपालले कडा रुपमा आपत्ति जनाएकाे छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङसँगके भेटवार्ताका क्रममा असहमति जनाएका हुन् ।
भेटका अवसरमा दुई देशबिचको मित्रवत् सम्बन्ध र सहकार्यका विविध क्षेत्रमा कुराकानी भई आगामी दिनहरूमा सम्बन्ध र सहकार्य अभिवृद्धि गर्न दुवै देशका संयन्त्र अग्रसर हुने समझदारी भएको छ ।
साथै नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा चीन र भारतबिच भएको समझदारीका विषयमा राष्ट्रपति सीसँग प्रधानमन्त्री ओलीले स्पष्टरूपमा आपत्ति रहेको कुरा राखेकाे परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले जानकारी दिए ।
“सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकालीपूर्वका सबै भूभाग सार्वभौम मुलुक नेपालको भएको स्पष्ट रहेको छ । यस मामिलामा चीनले नेपाललाई सहयोग गर्ने विश्वास नेपालले लिएको छ,” प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै सचिव राईले भने ।
नेपालको उक्त भनाइको जवाफमा राष्ट्रपति सीले नेपालको अडानप्रति आफ्नो फरकमत नरहेको र सोबारे नेपाल र भारतबिचको छलफलबाट निष्कर्ष निस्कियोस् भन्ने चाहना राखेका थिए ।
बेइजिङस्थित नेपाली राजदूतावासद्वारा जारी विज्ञप्तिमा लिपुलेकबाट सीमा व्यापार गर्ने सम्बन्धमा भारत र चीनबिच हालै भएको समझदारीलाई उल्लेख गर्दै प्रधानमन्त्रीले उक्त क्षेत्र नेपालको भएको र नेपाल सरकारले त्यसमा कडा आपत्ति (स्ट्रोङ अब्जेक्सन) जनाएको उल्लेख गरिएको छ ।
























