
विराटनगर । बडादसैँ अन्तर्गत नवरात्रको पाँचौं दिन आज दसैँघर तथा पूजा कोठामा स्कन्द माताको विधिपूर्वक पूजा आराधना गरिँदैछ ।
प्रत्येक वर्ष आश्विन शुक्ल पञ्चमी अर्थात् दुर्गा पक्षको पाँचौँ दिन नवदुर्गामध्येकी पाँचौँ देवी स्कन्द माताको विधिपूर्वक पूजा आराधना गरिन्छ ।
दुर्गा पक्षसमेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्ड, पाँचौँ दिन स्कन्द माता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी, र नवौँ दिन सिद्धि दात्रीको पूजा आराधना गर्ने गरिन्छ ।
यिनै ९ वटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ । स्कन्दको अर्थ सनतकुमार रहेको छ । स्कन्द माताको प्रतिमा लक्षणमा यिनी सिंहासनमा बसेकी तथा दुवै हातले कमलपुष्प समाएको हुने विवरण पाइन्छ ।























