
काठमाडौं । नेपालको पश्चिम क्षेत्रबाट मनसुन बाहिरिन थालेको छ । पश्चिम क्षेत्रबाट मनसुन बाहिरिन थाले पनि पूर्व क्षेत्रमा मनसुनको प्रभाव यथावत् नै रहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले सोमबार एक विशेष बुलेटिन जारी गर्दै पश्चिमी क्षेत्रका धेरै स्थानबाट मनसुन बाहिरिएको जनाएको हो ।
सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशसहित लुम्बिनी प्रदेश र गण्डकी प्रदेशको पश्चिमी भेगका थोरै स्थानबाट मनसुन बाहिरिएको बुलेटिनमा उल्लेख छ ।
देशको मध्य तथा पूर्वी क्षेत्रमा अहिले पनि मनसुनको प्रभाव कायम रहेको जनाउँदै महाशाखाले सतर्क रहन सबैमा अपिल गरेको छ ।
लुम्बिनी र गण्डकी प्रदेशका पूर्वी भूभाग तथा मधेस र कोशी प्रदेशका पूरै क्षेत्रमा मनसुनको प्रभाव कायम रहेको महाशाखाको भनाइ छ ।
पश्चिमबाट सुरु भएर बिस्तारै पूर्वबाट हटेर जाने मनसुनी प्रणाली अब कति दिनमा बाहिरिन्छ भन्ने यकिन भने भइसकेको छैन । सामान्यता: नेपालमा मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ हो, तर पछिल्ला केही वर्ष नेपालमा मनसुनी प्रणालीको समयावधि बढेको छ ।
औसत मितिभन्दा केही दिन ढिला गरी मनसुन नेपालबाट हट्न थालेको हो । यस वर्ष मनसुन औसत मिति जुन १३ तारिखभन्दा १५ दिनअगाडि मे २९ मै नेपाल प्रवेश गरेको थियो ।
गत वर्ष मनसुन पूर्ण रूपमा अक्टोबर १२ तारिखमा बाहिरिएको थियो । मनसुन बाहिरिएपछि पश्चिमी वायुको प्रभाव सुरु हुने र यसले बिस्तारै चिसो बढाउने मौसमविद्हरूकाे भनाइ छ।
यसैबीच, सोमबार राति कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहने महाशाखाले जनाएको छ ।
पश्चिमबाट मनसुनी प्रणाली बाहिरिए पनि कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना रहेको छ । यो क्रम बुधबारसम्म नै कायम रहने र पहाडी र तराईका केही स्थानमा हल्का र मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।























