
विराटनगर । मदन भण्डारी लोकमार्गअन्तर्गत उदयपुरको अँधेरीमा सोमबार बिहान एउटा कारमा अचानक आगलागी भएको छ । कारमा भएको आगलागीमा परेर एक जना बालक सामान्य घाइते भएका छन् ।
उदयपुरगढी गाउँपालिका–७ स्थित अँधेरीमा इलामबाट काठमाडौं जाँदै गरेको एउटा कारमा आज बिहान ९ : ५० बजेतिर अचानक आगलागी भएको उदयपुर प्रहरीका प्रवक्ता डीएसपी केदारमान दोङले जानकारी दिए ।
उनका अनुसार गुडिरहेको कारमा अचानक आगलागी हुँदा कारमा सबार एक जना बालक सामान्य घाइते भएका छन् ।
प्रेमकुमार सेन्चुरीले चलाएको बा ९ च ८६६८ नम्बरको कारमा उनकी श्रीमती र २ जना छोरा सवार रहेका थिए । कारमा सवार ४ जनामध्ये प्रेमकुमारका कान्छा छोरा ७ वर्षीय पारुलको एउटा खुट्टामा आगोले भेटेको हुँदा सामान्य घाइते भए भने अन्य कसैलाई केही नभएको प्रहरीले जनाएको छ । उनको उदयपुर जिल्ला अस्पतालमा उपचारपछि डिस्चार्ज भएको डीएसपी दोङले बताए ।
फोर्ड कम्पनीको पेट्रोलवाला कारमा इलामबाट काठमाडौं जाँदा गुडिरहेको कारमा अचानक आगलागी भएको प्रेमकुमारलाई उद्धृत गर्दै डीएसपी दोङले भने, ‘उहाँले कार कुदाइ रहेको समयमा अकस्मात् आगलागी भएको भन्नु भएको छ । कार आगलागीबाट मानवीय क्षति छैन भने कार जलेर पूर्ण रूपमा नष्ट भएको छ । घटना कसरी भयो भनेर थप अनुसन्धान अघि बढाएका छौँ ।’























