चौदण्डीगढीमा मेयर–उपमेयर लखेटिए, सहकारी घोटाला आरोपमा वडाध्यक्ष घेरिए

Share this
694shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २, आइतबार १८:२०
चौदण्डीगढीमा मेयर–उपमेयरलाई लखेटिए, सहकारी घोटाला आरोपमा वडाध्यक्ष घेरिए

उदयपुर । उदयपुरको चौदण्डीगढीमा तिहार र छठ पर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रम अप्रत्याशित रूपमा तनावग्रस्त बनेको छ ।

चौदण्डीगढी नगरपालिका–१० ले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सहभागी नगरप्रमुख कालुमान लामा र उपप्रमुख मणिकादेवी दुलाललाई युवाहरूको समूहले लखेटिएपछि कार्यक्रम स्थगित भएको थियो ।

हडिया बजारमा आयोजित कार्यक्रमको सुरुवात शान्तिपूर्ण तवरबाट भएको थियो । सो अवसरमा बोल्दै वडाध्यक्षहरूले सबै विकासका कार्यहरू आफूहरूले गरेको दाबी गर्न थालेपछि तनाव बढ्दै गएको बताइएको छ ।

१० नम्बर वडाध्यक्ष धर्मराज खड्का बोल्दै गर्दा मञ्चमा एक हुल युवाहरूको समूह प्रवेश गरेर कार्यक्रम बिथोलेको थियो ।

ती युवाहरूको समूहले ब्यानर च्यात्नुका साथै पोडियम र ड्यास तोडफोड गरेपछि कार्यक्रमका प्रमुख अतिथि रहेका प्रमुख लामा, उपमेयर दुलाल र ९ नम्बरका वडाध्यक्ष प्रकाश राउतलगायत कार्यक्रम स्थल छाडेर गएका थिए ।

सो कार्यक्रममा सहभागी भएका जनप्रतिनिधिहरू नेकपा एमालेबाट निर्वाचित भएका हुन् । कार्यक्रममा सहभागी अन्य जनप्रतिनिधिहरू कार्यक्रम स्थल छाडेर गए पनि १० नम्बरका वडाध्यक्ष खड्कालाई युवाहरूको समूहले सहकारी हिनामिनाको आरोपमा घेराउ गरेर राखेका थिए ।

खड्का वडाध्यक्ष हुनुअघि जनउत्थान सहकारी संस्थाको अध्यक्ष रहेको र सो सहकारीको रकम हिनामिना भएको आरोपमा युवाहरूले ‘हिसाब दे’ भन्दै घेराउ गरेको बताइएको छ ।

एक घण्टा लामो छलफलसँगै खड्काले तिहारपछि सबै विवरण सार्वजनिक गर्ने प्रतिबद्धता जनाएपछि स्थिति शान्त भएको हो । स्थानीयका अनुसार सहकारी अहिले बन्द अवस्थामा छ र त्यसबारे कुनै स्पष्ट जानकारी नदिएको भन्दै युवाहरू आक्रोशित भएका हुन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.