
विराटनगर । नेकपा एमाले कोशी प्रदेश इन्चार्ज शेरधन राईले भाद्र २३ र २४ गतेका घटनापछि मुलुक असामान्य अवस्थामा रहेको बताएका छन् । उनले वर्तमान सरकार असंवैधानिक भएको टिप्पणी गरे ।
प्रेस चौतारी मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै राईले शान्तिपूर्ण जेनजी पुस्ताको आन्दोलनलाई अपहरण गरी हिंसा मच्चाउनेहरूमाथि कडा कारबाही गर्न उच्चस्तरीय छानबिन आयोग गठन गर्नुपर्ने बताए ।
जेनजी पुस्ताको आन्दोलनलाई हिंसामा परिणत गर्ने, अवोधध विद्यार्थीहरूको हत्या गराउने कार्यमा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउनु पर्ने उनले बताए ।
उनले सरकारले गठन गरेका आयोगहरूलाई पनि अस्वीकार गर्ने बताए ।
संविधानको रक्षाका लागि प्रदेशको राजधानी विराटनगरसहित सबै जिल्ला सदरमुकाम र मुख्य बजार केन्द्रहरूमा ठूला जनप्रदर्शन र र्यालीहरू आयोजना गरिने उनले बताए ।
अभियानमा नेकपा एमालेले सवा १ लाख पार्टी सदस्य र सबै जनवर्गीय संगठनलाई परिचालन गर्ने उनको भनाइ छ ।
उनले पार्टी नेता तथा कार्यकर्ताहरूको सम्पत्ति छानबिन गर्ने विशेष प्रस्ताव पारित गरेको जानकारी दिँदै ०४६ सालको परिवर्तन पश्चात् लाभको पदमा पुगेका सबैको सम्पत्ति विवरण सार्वजनिक गरिने र आफूबाटै छानबिन सुरु गर्न आह्वान गर्ने बताए ।
























