
विराटनगर । बंगालको खाडीमा विकसित भएको मोन्था चक्रवातले जोखिम बढाएपछि मेची राजमार्गको इलाम खण्डमा रातको समयमा सवारी चलाउन रोक लगाइएकाे छ । जिल्ला प्रशासन कार्यालय इलामले बिहीबार बेलुका ७ बजेदेखि भोलिपल्ट बिहान ६ बजेसम्म सवारी आवागमनमा रोक लगाएको हो ।
गत असोज १८ गतेको बाढी पहिरोका कारण इलाम जिल्ला बढी प्रभावित भएको छ । पहिरोले अवरुद्ध मेची राजमार्ग दुई साता बन्द भएको थियो । वर्षा हुँदा पहिरोको जोखिम हुने भएका कारण कात्तिक १३ गते बेलुका ७ बजेदेखि सवारी चलाउन रोक लगाएको हो ।
जल तथा मौसम विज्ञान विभाग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जारी गरेको सूचना अनुसार बिहीबार दिउँसोदेखि शनिबार बिहानसम्म चक्रवातको प्रभाव पर्नेछ । सहायक प्रमुख जिल्ला अधिकारी भोलानाथ गुरागाईंले जारी गरेको सूचनामा मेची राजमार्गको धेरै स्थानमा जोखिम भएका कारण सम्भावित दुर्घटनालाई रोक्न राति सवारी आवागमनमा रोक लगाइएको हो ।























