पूर्वी नेपालमा बाढी पहिरोः ठाउँ-ठाउँमा यातायात अवरुद्ध

Share this
696shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक १४, शुक्रबार ०८:२८

विराटनगर । निरन्तरको वर्षासँगै आएको बाढी र पहिरोका कारण पूर्वी नेपालका मुख्य राजमार्गहरू तथा भित्री सडकहरू अवरुद्ध भएका छन् ।

मेची राजमार्गको इलाम खण्डमा ठाउँ–ठाउँमा पहिरो खस्नुका साथै सडक दबिँदा सवारी साधन सञ्चालन पूर्ण रूपमा ठप्प भएको छ ।

जिल्ला प्रशासन कार्यालय इलामका अनुसार मेची राजमार्गको राजदुवाली क्षेत्रमा पुरानो पहिरोको नयाँ ट्र्याक भासिने क्रम बढेको छ ।

यस्तै, वैकल्पिक रूपमा प्रयोग गरिएको तिल्केनी–सिमलगोलाई सडकमा समेत ठाउँ–ठाउँमा पहिरो खसेको छ ।

बाढी र पहिरोको जोखिम उच्च बढेपछि इलाम प्रशासनले बिहीबार साँझदेखि नै यो सडक खण्डमा सवारी आवागमन बन्द गराएको थियो । रातभरको वर्षाले सडकमा थप क्षति पुगेकाले अहिले सवारी आवागमनमा पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ ।

यसैगरी, सुनसरीको धरानदेखि धनकुटाको मूलघाट हुँदै पाँचथर र ताप्लेजुङलाई जोड्ने तमोर करिडोर पनि बाढीका कारण अवरुद्ध भएको छ ।

तमोर करिडोरअन्तर्गत पाँचथर र धनकुटाको सिमावर्ती नावा खोलामा पानीको बहाव अत्यधिक बढेका कारण सवारी आवागमन ठप्प भएको हो ।

प्रशासनले जोखिमलाई ध्यान दिँदै यात्रा नगर्न र सतर्कता अपनाउन सबैमा अनुरोध गरेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.