
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) भित्र असन्तुष्टि बढिरहेका बेला सचिवालय सदस्यद्वय जनार्दन शर्मा र राम कार्कीले आज (मंगलबार) ‘प्रगतिशील अभियान’ घोषणा गर्दैछन् । पत्रकार सम्मेलनमार्फत आफ्नो अभियानको औपचारिक घोषणा गर्न लागेको शर्माले जानकारी दिएका छन् ।
नयाँ अभियान घोषणा गर्नुअघि आज बिहान जनार्दन शर्माले माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहाललाई भेटेका थिए । माओवादीले नेकपा एकीकृत समाजवादीसहित अन्य साना कम्युनिस्ट पार्टीहरूसँग एकता गर्ने निर्णय गरेपछि फरक बाटो लिने तयारीमा रहेका शर्मालाई फकाउन दाहालले बोलाएका थिए ।
दाहालले फकाउने प्रयास गरे पनि शर्मा आफ्नो निर्णयमा टसमस भएनन् । दुई नेताले एकअर्कालाई ‘गुडबाई’ भनेर छुट्टिएका छन् । शर्माले भेटमा दाहाललाई आफ्नो राजनीतिक बाटो स्पष्ट पारेका थिए ।
























