
विराटनगर । पछिल्लो समय बालबालिकामा अटिजम लगायत विभिन्न शारीरिक र मानसिक समस्याहरू बढ्दै गएपछि त्यसलाई सम्बोधन गर्न विराटनगर महानगरपालिकामा आयुर्वेदिक उपचार पद्धति सुरु गरिने भएको छ ।
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मोरङको अगुवाइमा आगामी कात्तिक २५ गते देखि बालबालिकालाई ‘स्वर्णविन्दु प्राशन’ नामक थोपा खुवाउने तयारी पूरा भएको छ । यो अभियानअन्तर्गत महानगरपालिका क्षेत्रका १ वर्षदेखि ५ वर्ष उमेर समूहका १ हजार बालबालिकालाई लक्षित गरिएको छ ।
सुनको भस्म, मह र घिउको मिश्रण
जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रले ‘स्वर्णविन्दु प्राशन’ को बारेमा सरोकारवालाहरूलाई जानकारी दिँदै यो औषधि सुनको भस्म, औषधि, घिउ र महको मिश्रणबाट तयार पारिएको जानकारी दिएको छ । यो थोपा प्रत्येक महिनाको पुष्प नक्षत्रको दिनमा मात्रै बालबालिकालाई खुवाइन्छ ।
रोग प्रतिरोधात्मक क्षमता र स्मरणशक्तिमा सुधार

आयुर्वेदिक चिकित्सक डा. रामप्रबोध चौधरीका अनुसार स्वर्णविन्दु प्राशन खुवाउँदा बालबालिकाको बुद्धि, स्मरणशक्ति र वाणीमा सुधार आउँछ। यसले पाचनशक्ति र शारीरिक बल बढाउनुका साथै रोग प्रतिरोधात्मक क्षमतालाई मजबुत बनाउँछ। समग्रमा बच्चालाई ऊर्जावान्, तेजस्वी र सुन्दर बनाउन यो मिश्रणले मद्दत पुर्याउने उनको भनाइ छ।
खाली पेटमा खुवाउँदा प्रभावकारी, सावधानी अपनाउनुपर्ने
यो औषधि पहिलो पटक विराटनगर महानगर क्षेत्रभित्रका बालबालिकालाई खुवाउन लागिएको हो । चिकित्सकहरूका अनुसार खाली पेटमा (अर्थात् खाना खाएको करिब ३–४ घण्टापछि) औषधिले अझ बढी काम गर्छ ।
स्वर्णविन्दु खुवाएपछि आधा घण्टासम्म बालबालिकालाई केही पनि खान दिनु हुँदैन । डा. चौधरीले रुघा खोकी वा झाडापखाला लागेका बालबालिकालाई भने यो थोपा नखुवाउन सल्लाह दिएका छन् र कुनै दुष्प्रभाव देखिएमा तुरुन्त चिकित्सकसँग सल्लाह लिनुपर्ने बताएका छन् ।

























