
विराटनगर । विराटनगरको अरनिको कलेजले इन्जिनियरिङ र मेडिकल शिक्षामा उल्लेखनीय सफलता हासिल गरेका विद्यार्थीहरूलाई विशेष समारोहका बीच सम्मान गरेको छ ।
कलेजले शनिबार एक कार्यक्रमको आयोजना गरेर इन्जिनियरिङमा विश्वविद्यालय टपसहित एमबीबीएसमा पूर्ण छात्रवृत्ति पाएका विद्यार्थीलाई सम्मान प्रदान गरेको हो ।
इन्जिनियरिङमा विश्वविद्यालय टप गर्ने २, एमबीबीएसमा पूर्ण छात्रवृत्ति ११ र आन्तरिक परीक्षामा सर्वोत्कृष्ट अंक ल्याउने ७ सहित २० जना विद्यार्थीलाई नगदसहित सम्मानित गरेको छ ।
कलेजले इन्जिनियरिङ प्रवेश परीक्षामा पूर्वाञ्चल विश्वविद्यालय टप गर्ने अनुक्रम काफ्ले र काठमाडौँ विश्वविद्यालय टप गर्ने नितेशकुमार श्रेष्ठलाई नगदसहित सम्मान गर्यो ।
साथै, एमबीबीएस प्रवेश परीक्षामा पूर्ण छात्रवृत्ति प्राप्त गरेका ११ विद्यार्थी सम्मानित भए । पूर्ण छात्रवृत्ति प्राप्त गरेका ओपेन्द्रकुमार यादव, शुभम अगरिया, दीक्षित भट्टराई, रोहित राम, लोकेश रौनियार, सुशान्त दाहाल, पियुष नेपाल, संस्कृति रोक्का, अर्पणा चौधरी, रिसभ सोनी र निराजन यादवलाई सम्मान गरेको कलेजले जनाएको छ । बिडिएसतर्फ निश्चल न्यौपानेले पूर्ण छात्रवृत्ति प्राप्त गरेका छन् ।
यस्तै, कलेजले कक्षा ११ र १२ को त्रैमासिक परीक्षामा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई पनि नगद पुरस्कारसहित सम्मान गरेको छ ।

कक्षा ११ मा नितिशकुमार गुप्ता र श्रेयन खड्का प्रथम, विवेक गुप्ता दोस्रो र प्रिन्सप्रशान्त साह तेस्रो भएका थिए । कक्षा १२ मा मञ्जिल ओझा प्रथम, प्राञ्जल नेपाल दोस्रो र सुजन राजवंशी तेस्रो भए । उनीहरुले क्रमश : ५ हजार, ३ हजार र २ हजार नगरका साथ सम्मान पत्र प्राप्त गरे ।
कार्यक्रममा कलेजका प्राचार्य राजेश कार्कीले कोशी प्रदेशमा पूर्ण छात्रवृत्तिमा अरनिको कलेजले धेरै संख्यामा नाम निकाल्न सफल भएको जानकारी दिए । उनले आरक्षण तर्फको नतिजापछि पूर्ण छात्रवृत्तिको संख्या २० जना पुग्ने बताए । उनले कलेजमा अध्ययनरत विद्यार्थीलाई पनि अझ राम्रो प्रगति गर्न शुभकामना दिए ।
कलेजका कोअर्डिनेटर विकास खनालले धेरै संख्यामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्नेमा अरनिको कलेज कोशीमा प्रथम तथा नेपालकै ‘टप फोर’ भित्र रहेको बताए ।
अरनिकोका विद्यार्थीले इन्जिनियरिङ र मेडिकल शिक्षामा उत्कृष्ट नतिजा दिँदै आएको प्रस्टाए । उनले विद्यार्थीहरूलाई विदेश जाने चक्करमा नलागी स्वदेशमै काम गर्न आग्रह गरे ।
कार्यक्रममा व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मीप्रसाद अधिकारी, सञ्चालकहरू भरतराज दाहाल, डा. भविन्द्र निरौला, शैलेशकुमार झा, निलम अधिकारीलगायतको सहभागिता रहेको थियो ।

























