
विराटनगर । नेकपा (एमाले) को ११औं केन्द्रीय महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा दलित समुदायलाई सामाजिक र सांस्कृतिक रूपमा ‘अपहेलित र एक्ल्याउने’ प्रावधान राखिएको भन्दै पूर्वसांसद तथा एमाले नेता खेम नेपालीले कडा टिप्पणी गरेका छन् । उनले प्रतिनिधि छनोटको यो प्रक्रियालाई ‘विभेदजन्य’ र ‘असंगत’ भन्दै पार्टी नेतृत्व क्षमतामाथि नै गम्भीर प्रश्न उठाएका छन्।
नेपालीले सामाजिक सञ्जालमार्फत टिप्पणी गर्दै दलित निर्वाचन क्षेत्रका लागि बनाइएको प्रावधानले दलितलाई झन् सानो घेरामा साँघुरो र एक्लो बनाएको आरोप लगाएका छन् ।
एमालेको ११औं राष्ट्रिय महाधिवेशन प्रतिनिधि छनोट प्रक्रियामा तय भएको तीनवटा निर्वाचन क्षेत्रअन्तर्गत ‘दलित निर्वाचन क्षेत्र’ मा ‘दलितले दलित मात्र चुन्न पाउने’ प्रावधान राखिएको छ।
नेपालीले यो प्रावधानले सामाजिक सांस्कृतिक रूपमा उपेक्षित रहेको दलित समुदायलाई झन् साँघुरो र एक्लो बनाएको बताएका छन्। उनले भनेका छन्, “फेरि पनि एकदमै अछूत बनाएको छ।”
मार्क्सवादी सिद्धान्तलाई सर्वाधिक उच्च मान्ने पार्टीले समेत ‘कथित छूत / अछूत र तल्लो / उपल्लो’ को विभेद झल्काउने मानवतावादविरुद्धको प्रहारमा मौन बसेको भन्दै उनले वैचारिक विचलनमाथि प्रश्न उठाएका छन्।
उनले मतदानको यो प्रक्रिया असंगतिपूर्ण भएको र दलित समुदायमाथि उपेक्षाप्रति दु:ख व्यक्त गर्दै भनेका छन्, “यो विवेकहीन निर्णय लिने नेता, तिनको नेतृत्व क्षमता र विभेदजन्य यो व्यवहारको चर्को र उँचो शब्दमा घृणा, निन्दा र भर्त्सना व्यक्त गर्दछु।”
समग्र समाज निर्माणको पहिलो र महत्त्वपूर्ण शर्त वर्गीय समानता हो भन्दै उनले कम्युनिष्ट आन्दोलनले वर्ग समानताको वकालत गर्दै आए पनि व्यवहारमा फरक देखिएको टिप्पणी गरेका छन्।
दलित समुदायलाई अलग्गै निर्वाचन क्षेत्र छुट्याएर ‘दलितले दलित मात्र चुन्न पाउने’ प्रावधानले पार्टीभित्रै गम्भीर विवाद र आक्रोश उत्पन्न गरेको छ। यो टिप्पणीलाई मोरङलगायत देशभर जारी रहेको महाधिवेशन प्रतिनिधि छनोटको रस्साकस्सीको क्रममा एमाले नेतृत्वलाई दबाबको रूपमा हेरिएको छ।

मोरङमा एमाले महाधिवेशन प्रतिनिधि छनोट : संस्थापन र इतर पक्षबीच चर्को प्रतिस्पर्धा
























