सुनसरीको इनरुवा–कप्तानगञ्ज सडक निर्माण कम्पनीको १९ करोड जफत

Share this
767shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ मंसिर १६, मंगलबार १२:२६
सुनसरीको इनरुवा–कप्तानगञ्ज सडक निर्माण कम्पनीको १९ करोड जफत

विराटनगर । पूर्वपश्चिम हुलाकी राजमार्गअन्तर्गत सुनसरीको इनरुवा–कप्तानगञ्जको सडक निर्माण कम्पनीसँगको सम्झौता रद्द भएको छ ।

काममा ढिलासुस्ती गरेको कारण देखाउँदै इनरुवा–कप्तानगञ्ज सडक खण्डको ठेक्का सम्झौता रद्द गरिएको हुलाकी राजमार्ग निर्देशनालयअन्तर्गतको योजना कार्यालय इटहरीले जनाएको छ ।

निर्माणको जिम्मा पाएको कम्पनीले सम्झौता अनुसार काम नगरेको र पटक–पटकको ताकेतापछि पनि कार्य प्रगति नदेखिएपछि सडक विभागले ‘गौरी पार्वती–देव एन्ड सायर–भूमि संयुक्त उपक्रम (जेभी), विराटनगर’ सँगको ठेक्का तोडेको हो ।

‘गौरी पार्वती–देव एन्ड सायर–भूमि संयुक्त उपक्रम (जेभी), विराटनगर’ले २२.६६ किलोमिटर सडक निर्माणको जिम्मा पाए पनि चित्त बुझ्दो र काममा ढिलासुस्ती गरेको कारण देखाउँदै मंगलबार हुलाकी राजमार्ग निर्देशनालय इटहरीले सूचना जारी गरेर उनीहरूसँगको सम्झौता अन्त्य गरेको जनाएको छ ।

उक्त जेभीसँग २०७८ माघ २ गते ५२ करोड ७० लाख रुपैयाँ (करसहित) मा सडक स्तरोन्नतिको सम्झौता भएको थियो । सम्झौता अनुसार २०८१ साउनभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो ।

म्याद थप गरी २०८३ असारसम्म पुर्‍याइए पनि हालसम्म भौतिक प्रगति करिब १८ प्रतिशत मात्र देखिएको जनाउँदै निर्माण व्यवसायीले साइटमा काम ठप्प पारेको, प्रतिबद्धता अनुसार स्रोत परिचालन नगरेको र कार्य तालिका पेस गर्न नसकेकाले ठेक्का तोडिएको जनाएको छ ।

सार्वजनिक खरिद ऐनअनुसार ठेक्का तोडिएसँगै निर्माण कम्पनीको बैंक ग्यारेन्टी र पेस्की रकम जफत हुने भएको छ । उक्त निर्माण कम्पनीले अनुमानित लागतभन्दा करिब ५० प्रतिशत कम रकम कबोल गरेर ठेक्का हात पारेको थियो ।

निर्माण व्यवसायीलाई ठेक्का किन नतोड्ने भनेर कार्यालयले १५ दिने स्पष्टीकरण सोधेको थियो । उनीहरूले पेस भएको स्पष्टीकरण चित्तबुझ्दो तथा विश्वसनीय कार्य योजना पेस गर्न नसकेको र काम सुचारु गर्न तदारुकता नदेखाएको हुँदा सार्वजनिक खरिद ऐन र ठेक्का सम्झौताका सर्त बमोजिम ठेक्का रद्द गर्नुपरेको कार्यालयले जनाएको छ ।

कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको र बाँकी काम पूरा गर्न लाग्ने थप रकम पनि सरकारी बाँकी सरह यसै कम्पनीबाट असुल उपर गरिने कार्यालयले जनाइएको छ ।

 

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.