
काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी निर्वाचनको तयारीका लागि प्रमुख तीन दलका शीर्ष नेताहरूको संयुक्त बैठक बोलाएकी छन् । कार्कीले प्रधानमन्त्रीको कार्यभार सम्हालेको करिब पाँच महिना पुग्नै लाग्दा निर्वाचनको वातावरण बनाउन यो पहल गरेकी हुन् ।
प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का शीर्ष नेताहरूलाई आगामी शनिबारका लागि संयुक्त बैठकमा निमन्त्रणा गरेकी छन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार बैठकको मुख्य एजेन्डा आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनको तयारी रहने छ ।
बैठकका लागि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदिश खरेलले नेताहरूलाई भेटेर निम्तो दिने क्रम सुरु गरेका छन् । मन्त्री खरेलले आज बिहान कांग्रेस सभापति शेरबहादुर देउवा र मध्याह्न एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरी बैठकको औपचारिक निम्तो दिइसकेका छन् । उनले आजै प्रचण्डलाई पनि भेटेर बैठकमा उपस्थितिका लागि आग्रह गर्ने कार्यक्रम छ ।
यो ऐतिहासिक कालखण्डमा हुन लागेको निर्वाचनलाई निष्पक्ष र सफलतापूर्वक सम्पन्न गर्न प्रधानमन्त्रीले राजनीतिक दलहरूसँगको समन्वयलाई प्राथमिकता दिएकी छन् ।
























