फोटो क्याप्सन : नाबालिका डुबेको हण्डी ।विराटनगर । मोरङको धनपालथान गाउँपालिका–७ कदमाहामा शनिबार अपराह्न दुःखद् घटना भएको छ । ३ वर्षीया सोनु मण्डलको आँगनमै राखिएको पानी भरिएको हण्डी (सिलाबरको भाँडा)मा डुबेर मृत्यु भएको हो ।
घटना भएका बेला नाबालिकाका हजुरआमा र आमा काममा गएका थिए । उनका बुवा विदेशमा रहेको प्रहरीले जनाएको छ । घरको आँगनमा खेल्ने क्रममा नाबालिका हण्डीको पानीमा डुबेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।
‘तल टाउको र माथि खुट्टा भएको अवस्थामा नाबालिकाको उद्धार गरिएको हो । खेल्ने क्रममा डुबेपछि टाउको तल परेकाले निस्किन नसकेको पाइयो,’ प्रहरी स्रोतले भन्यो । इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।
नाबालिकालाई डुबिरहेको अवस्थामा देखेपछि अभिभावकले तत्काल उद्धार गरेर उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याएका थिए । अस्पताल पुर्याउनसाथ दिउँसो ३ः१० बजे चिकित्सकले उनको मृत्यु पुष्टि गरे । शवको पोस्टमार्टम कोशी अस्पतालमै गरिएको छ ।
घटनाले पारिवारिक पीडा मात्र नभएर बाल सुरक्षा र अभिभावकको असावधानीलाई पनि देखाएको छ । आँगनमा पानी भरिएको भाँडो वा हण्डीजस्ता साधारण वस्तुहरू पनि बालबालिकाको लागि घातक हुन्छन् भन्ने पुष्टि यो घटनाबाट भएको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले बताए ।
उनका अनुसार सामान्य सावधानी पनि अपनाउन नसक्दा र नजान्दा नाबालिकाको ज्यान गएको छ । ‘घटना पूर्ण रूपमा सुरक्षा र सतर्कताको अभावको परिणाम हो । अभिभावकहरूले बालबालिकाको खेल्ने वातावरण र घरका जोखिमपूर्ण स्थानको निगरानीमा सजग रहनुपर्छ । पूर्ण सावधानी अपनाउनुपर्छ, कटवालले भने ।
बालबालिकालाई सुरक्षित राख्न, घरभित्र र आँगनमा पानी भरेको हण्डी, बाल्टी वा अन्य भाँडोहरू बच्चाको पहुँचबाट टाढा राख्न आवश्यक रहेको उनले बताए । ‘सामान्य सावधानी अपनाउन नसक्दा र नजान्दा ठूलो बज्रपात बेहोर्नुपर्छ । यस्ता घटनाले समाजमा बाल सुरक्षा र अभिभावकको जिम्मेवारी सम्बन्धी चेतनामा ध्यान नपुगेको देखिन्छ,’ उनी भन्छन् ।
अहिले मृतकका अभिभावकले ठूलो शोक सहिरहेका छन् । स्थानीयले पनि यस घटनाप्रति चिन्ता व्यक्त गरिरहेका छन् । प्रहरीले भने घरमा साना बालबालिकाका लागि सुरक्षा उपाय अवलम्बन गर्न आह्वान गरेको छ ।
यस घटनाले सधैं सजग रहँदा मात्रै बालबालिकाको जीवन बचाउन सकिन्छ भन्ने सन्देश गएको एसपी कटवाल बताउँछन् । सामान्य ठानिएका वस्तुहरूले पनि बच्चाको जीवनमा अनपेक्षित संकट ल्याउन सक्ने उनको भनाइ छ ।























