
काठमाडौं । साफ यु– २० च्याम्पियनसिप आइतबार काठमाडौंमा सुरु हुँदैछ । प्रतियोगितामा ६ वटा टोली सहभागी हुनेछन् ।
शनिबार एन्फा मुख्यालयमा भएको पत्रकार सम्मेलनमा नेपालसहित ६ टोलीका कप्तान र प्रशिक्षकले प्रतियोगिताका लागि तयार रहेको बताएका छन् ।
प्रतियोगितामा पाकिस्तानबाहेक दक्षिण एसियाली सहयोग संगठन सार्कमा आवद्ध ६ देश सहभागी छन् ।
यसअघि प्रतियोगिताका सबै खेलहरु त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने तय थियो । तर एएफसी च्यालेन्ज कप प्लेअफ अन्तर्गत नेपालको चर्च ब्वाइज र भुटानको पारो एफसीबीच भएको खेलपछि दशरथ रंगशालामा खेल खेलाउन लायक नभएको भन्दै उद्घाटनसहित समूह चरणको खेलहरु एन्फा कम्प्लेक्समा गर्न लागिएको छ ।
उद्घाटन खेलमा घरेलु टोली नेपालले आइतबार श्रीलंकासँग खेल्नेछ । खेल सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा दिउँसो ३ बजे सुरु हुनेछ । घरेलु टोली नेपाल, साविक विजेता भारत र साविक उपविजेता बंगलादेश प्रतियोगिताको उपाधि जित्न मुख्य दाबेदारको रुपमा छन् ।
भुटानले पनि पछिल्लो समय राम्रो प्रदर्शन गर्दै आएको छ । यस्तै माल्दिभ्स र श्रीलंका पनि प्रतियोगितामा राम्रो प्रदर्शन गर्ने लक्ष्यमा छ । घरेलु टोली नेपालका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले यस पटक राम्रो तयारी भएकोले उपाधि जित्ने लक्ष्य रहेको बताए ।























