
विराटनगर । लागुऔषध ब्राउनसुगरसहित संखुवासभा प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
संखुवासभाको धर्मदेवी नगरपालिका–८ बाट खाँदबारी नगरपालिका–२ का ४४ वर्षीय रोशन ओझालाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको संखुवासभा प्रहरीका सूचना अधिकारी प्रहरी निरीक्षक रामकुमार लामिछानेले जानकारी दिए । उनका अनुसार धनकुटाबाट खाँदबारी आउँदै गर्दा उनलाई शंका लागि चेक गर्दा ब्राउनसुगर फेला परेको हो ।

को २० प १८८ नम्बरको मोटरसाइकलमा धनकुटाबाट खाँदबारी आउँदै गरेका ओझालाई चेक गर्दा ब्राउनसुगर २१ ग्राम २४० मिलिग्रामका साथै नगद २६ हजार २ सय ३० रुपैयाँ फेला परेको बताउँदै, प्रहरी निरीक्षक लामिछानेले भने, ‘ओझाले हेल्मेटको भित्री भागमा प्लाष्टिकमा लुकाइछिपाई लग्ने क्रममा ब्राउनसुगर फेला परेको हो । केही समयदेखि लागुऔषध कारोबार गर्दै आएको गोप्य सूचनाका आधारमा उनीमाथि निगरानी बढाउँदै आएका थियौं ।’
पक्राउ परेका ओझाविरुद्ध लागुऔषध मुद्दा चलाउनका लागि थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।


















