
विराटनगर । कोशी प्रदेशसभा सचिवालयले प्रदेशसभा (संसद) बैठकको मिति सच्याएको छ । मंगलबार दिउँसो प्रदेशसभा सचिवालयले प्रदेशसभा बैठक भदौ १८ मा बोलाएको थियो ।
लगतै अर्को सूचना जारी गरेर प्रदेशसभा बैठक भदौ १४ लाई बोलाइएको छ । सुरुमा १८ भदौमा बैठक रहेको सूचना जारी गरेका प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले मिति परिवर्तन भएको अर्को सूचना जारी गरेका हुन् । जसमा बैठक भदौ १४ गतेका लागि आह्वान गरिएको छ ।
दुइतिहाई बहुमत सरकारको छायाँमा प्रदेशसभा परेको भन्दै प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)सहित सत्तारुढ सांसदले नै विरोध गरेपछि सभामुख अम्बरबहादुर विष्टले प्रदेशसभा बैठक बोलाएका थिए । असार ८ मा बजेट पास भएपछि प्रदेशसभाको बैठक स्थगित भएको थियो ।
नेपाली कांग्रेसलाई सरकारमा सहभागी गराउन मन्त्रालय विभाजन गर्ने तयारी गरेका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सरकार विस्तारपछि मात्रै प्रदेशसभा बैठक बोलाउन सभामुखलाई आग्रह गरेका थिए । सभामुखले पनि उनलाई सहज हुनेगरी समय दिएर प्रदेशसभा बैठक बोलाएका हुन् ।

























