
विराटनगर । सुनचाँदी व्यवसायीहरुले व्यवसायलाई पारदर्शी र सहज बनाउनका लागि व्यवसायिक आचारसंहिता २०८१ लागु गरेका छन् ।
विराटनगरमा नेपाल सुनचाँदी व्यवसायी महासंघ कोशी प्रदेशले एक कार्यक्रमकाबीच व्यवसायिक आचारसंहिता लागु गरेका हुन् । महासंघका कोशी प्रदेश अध्यक्ष रमेश रसाइलीका अनुसार सुनचाँदी कारोबारलाई व्यवस्थित, पारदर्शी र सहज बनाउनका लागि व्यवसायीहरुकै पहलमा आचारसंहिता बनाइएको हो ।
सरकारले सुनचाँदी व्यवसायी सम्बन्धी ऐन कानुन, नीति नियम नबनाइदिँदा समस्या पर्दै आएको बताएका उपाध्यक्ष शशिभूषण साहले महासंघसँगै नेपाल रत्नभूषण महासंघ र नेपाल हस्तकला महासंघले संयुक्त रुपमा आचारसंहितालाई अघि बढाउने सहमति गरेको बताए ।
आचारसंहिताको सुरुआत गर्दै सुनचाँदी व्यवसायी महासंघका केन्द्रीय उपाध्यक्ष दियेशरत्न शाक्यले आचारसंहिता नहुँदा कारोबार गर्न समस्या हँुदै आएको बताए । उनले भने, ‘सरकारले समेत हाम्रा लागि ऐन कानुन, नीति नियम बनाउन सकेको छैन । हामीले पटकपटक यसबारे माग राखेका छौं । त्यसैले पनि अहिले आन्तरिक रुपमा आचारसंहिता सम्प्रेषण गर्दै व्यवसायलाई थप पारदर्शी र अस्वस्थ्य प्रतिस्पर्धाबाट बाहिर निकाल्ने तीन संस्थाले सहमति गरेको हो ।’
त्यसैगरी, भन्सार दरमा लगाइएको २० प्रतिशत करका कारण सुनचाँदी व्यवसायी पलायन हुनुपर्ने अवस्थामा पुगेको उनले बताए । उनले भने, ‘तेस्रो मुलुकलगायत भारतमा भन्सार दर ६ प्रतिशत रहेको अवस्थामा हाम्रो मुलुकमा २० प्रतिशत कर राखिएको छ । यसले गर्दा सुनचाँदी खरिद गर्न सहज छैन । आर्थिक मन्दीसँगै करका कारण व्यवसायी नै पलायनको अवस्थामा पुगेका छन् ।’
युक्रेन र रुसबीचको युद्धसँगै शक्ति राष्ट्रले सुन संचित गर्न थालेपछि पछिल्लो समय सुनको मूल्य आकासिएको व्यवसायीहरुले बताए । विराटनगर बजारमा हाल दैनिक ३ किलो सुन खपत हुने गरेको र चाँदी अधिकतम् १० किलोसम्म खपत हुने गरेको महासंघ कोशी प्रदेशका उपाध्यक्ष तथा विराटनगर अध्यक्ष शशिभूषण साहले जानकारी दिए ।


















