
विराटनगर । कानुनद्धारा बर्जित लागुऔषधको अवैध धन्दामा युवापिँढीको संलग्नता बढ्दै गएको पाइएको छ ।
प्रहरीको तथ्यांकले कोशी प्रदेशमा युवापुस्ता लागुऔषधको ओसारपसार, कारबोर र दुर्व्यसनमा फस्ने क्रम बढ्दै गएको देखाउँछ । नेपाल–भारत खुला सीमाको फाइदा उठाएर लागुऔषध कारोबार धेरै हुने गरेको छ । जसका कारण युवापिँढी यसको दलदलमा नराम्ररी फसेका छन् ।
यसरी फस्नेमा स्कुले बालबालिका र विद्यार्थीहरु धेरै छन् । लागुऔषधले समाजमा अपराधसमेत बढेको छ । युवापुस्ताले जीवनको उर्लाशील समय गलत धन्दामा लगाइरहेका छन् ।

भारतसँगको खुला सीमा र दुई मुलुकबीच जोडिएको बस्तीको फाइदा उठाउँदै लागुऔषधको ओसारपसार हुने गरेको प्रहरीको भनाइ छ । प्रहरीले प्रदेशका मुख्य नाकामा कडाइ गरे पनि खुला सीमाका कारण चोरबाटो हुँदै लागुऔषधको कारोबार हुने गर्छ ।
लागुऔषधको लतमा झापा, मोरङ, सुनसरी, उदयपुर र इलाममा युवाहरु बढी फसेका छन् । लागुऔषधको कारोबारमा १६ देखि ३५ वर्ष उमेर समूहका युवायुवतीको संलग्नता धेरै रहेको प्रहरीको तथ्याङकले देखाउँछ ।
चेतनाको अभाव, संस्कृतिको नाममा हुने विकृति, असफलता, पारिवारिक कलह र अभिभावकले आफ्ना सन्तानको खराब बानी व्यवहारको नजरअन्दाज गर्दा लागुऔषधको कारोबार र प्रयोगकर्ता बढेको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी भीमबहादुर दाहालले जानकारी दिए । उनका अनुसार लागुऔषध सेवनले तनाव मुक्त हुने भ्रम, परिवारबाट प्राप्त हुने अनियन्त्रित रकम, बेरोजगारी, असफलता, साथीभाइको लहैलहैले गर्दा कारोबारी र प्रयोगकर्ता बढेका छन् ।

लागुऔषधको धन्दामा १६ देखि ३५ वर्षसम्मका युवायुवतीहरु बढी मात्रामा संलग्न रहेको दाहाल बताउँछन् । अन्य उमेर समूहका महिला पुरुषको संख्या पनि बढ्दो छ ।
प्रयोगकर्ताको बढ्दो ग्राफ
कोशी प्रदेशमा झापाको काँकरभिट्टा र भद्रपुर, सुनसरीको लौकही र भन्टाबारी, इलामको पशुपतिनगर, उदयपुरको रामपुर तथा मोरङको विराटनगर (रानी, मटेरुवा र दरैयावस्ती), रंगेली नाकालगायत आसपासका क्षेत्रबाट लागुऔषधको ओसारपसार र कारोबार बढी हुन्छ । यी नाकाबाट भित्रिएका मध्ये पछिल्लो एक आर्थिक वर्ष २०८०/०८१ मा प्रहरीले १६ वर्ष मुनिका २२ जना, १६ देखि २५ वर्षका ७ सय १७ जना र २६ देखि ३५ वर्षका ५ सय ६० जनालाई पक्राउ गरेको ।
प्रहरीका अनुसार ३६ वर्षदेखि ४५ वर्षका २ सय ६८ जना, ४६ देखि ६० वर्षका ६३ जना र ६० वर्षमाथिका ७ जनासहित १ हजार ६ सय ३७ जनालाई पक्राउ गरेर लागुऔषध मुद्दा चलाइएको छ । तीमध्ये अधिकांश प्रयोगकर्ता र भरिया हुन् । केही कारोबार पनि छन् ।
कोशी प्रदेश प्रहरी कार्यलयका अनुसार प्रदेशभरि आर्थिक वर्ष २०८०/०८१ मा लागुऔषधका १ हजार ३१ वटा मुद्दा दर्ता भएका छन् । मुद्दामा १ हजार ४ सय ९४ जना पुरुष र ९८ जना महिला पक्राउ परे भने ४२ जना पुरुष र ३ जना महिला फरार छन् ।

आर्थिक वर्ष २०७९/०८० मा ७ सय ८९ मुद्दा दर्ता भएका थिए । उक्त अवधिमा १ हजार ८१ जना पुरुष, ७० जना महिला पक्राउ परे भने ५८ जना पुरुष र २ जना महिला फरार भए । आर्थिक वर्ष २०७८/०७९ मा ७ सय ८० मुद्दा दर्ता भएको थियो । १ हजार ७६ जना पुरुष र ५० जना महिला पक्राउ परेका थिए भने ३९ जना पुरुष र ४ जना महिला फरार छन् ।
कोशी प्रदेशअन्तर्गत झापामा आर्थिक वर्ष २०८०/०८१ मा लागुऔषध सम्बन्धीका २ सय ९७ वटा मुद्दा दर्ता भएको थियो । २०७९/०८० मा २ सय ६ वटा मुद्दा दर्ता भएको थियो । २०७८/०७९ मा २ सय मुद्दा दर्ता भएको थियो ।
मोरङमा आर्थिक वर्ष २०८०/०८१ मा लागुऔषध सम्बन्धी ३ सय ५४ वटा मुद्दा दर्ता भएका छन् । २०७९/०८० मा ३ सय १९ वटा मुद्दा दर्ता भएका थिए । २०७८/०७९ मा ३ सय ९ वटा मुद्दा दर्ता भएको थियो ।
सुनसरीमा आर्थिक वर्ष २०८०/०८१ मा २ सय ४१ वटा मुद्दा दर्ता भएको थियो । २०७९/०८० मा १ सय ४१ वटा मुद्दा दर्ता भए । २०७८/०७९ मा १ सय ७३ वटा मुद्दा दर्ता भएका थिए ।
१० हजार किलो गाँजा बरामद, ब्राउन सुगर साढे ३ किलो
प्रदेशभरबाट आर्थिक वर्ष २०८०/०८१ मा लागुऔषध गाँजा १० हजार ४ सय २० किलो ४९ ग्राम बरामद भएको छ । प्रहरीले चरेस ८६ ग्राम १८० मिलिग्राम बरामद गर्दा ब्राउन सुगर (खैरो हेरोइन) ३ किलो ८ सय ८० ग्राम २४९ मिलिग्राम बरामद गरेको छ ।
विभिन्न मनोद्धिपक औषधि ७८ हजार ३ सय ३८ चक्की/क्याप्सुल , विभिन्न मनोद्धिपक सुइ ७ हजार ३ सय ८७ (एम्पुल) र मनोद्धिपक पदार्थ २ सय ३६ बोतल बरामद भएको थियो । आर्थिक वर्ष २०७९/०८० मा गाँजा ५ हजार ८ सय १५ किलो ४ सय ९३ ग्राम, ब्राउन सुगर २ किलो ७९ ग्राम ८४९ मिलिग्राम, अफिम २७ ग्राम ६८ मिलिग्रम, विभिन्न मनोद्धिपक औषधि २७ हजार ६ सय १८ चक्की/क्याप्सुल, विभिन्न मनोद्धिपक सुइ १० हजार १ सय ७५ एम्पुल र मनोद्धिपक पदार्थ ३ सय १७ बोतल बरामद भएको थियो ।

आर्थिक वर्ष २०७८/०७९ मा गाँजा २ हजार २१ किलो ९ सय १ ग्राम, चरेस २३ ग्राम ९७ मिलिग्राम, अफिम ११ ग्राम, ब्राउन सुगर २ किलो ४५७ ग्राम १७४ मिलिग्राम, विभिन्न मनोद्धिपक औषधि ३१ हजार ७ सय ९० चक्की/क्याप्सुल, मनोद्धिपक सुइ १० हजार २ सय ६५ एम्पुल र मनोद्धिपक पदार्थ ७ सय ६९ बोतल बरामद भएका थिए ।
चोरबाटोबाट महँगो लागुऔषध
प्रहरीका अनुसार लागुऔषधको अन्तर्राष्ट्रिय बजारमा महँगोमा बिक्री हुने ब्राउन सुगर, चरेस, अफिमजस्ता लागुऔषधका साथै नियन्त्रित औषधि डाइजेपाम, फेनारगन, नाइट्रोजन, फेनसिडल, डाइजेक्स डीसीहरु लागुऔषधका रुपमा भारतबाट खुलासीमाको फाइदा उठाउँदै कारोबारीले नेपाल भित्राएका हुन् ।

सीमानाकामा निगरानी बढाएर प्रहरीले कडाइ गरिरहे पनि कारोबारीले चोरबाटो हुँदै लागुऔषध भित्राउने गरेका छन् । सीमावर्ती भारतीय बजारमा गएर यस्ता औषधि सेवन गर्नेको संख्या झन् धेरै छ । प्रहरीका अनुसार कोशीका तराईका तीन जिल्लाका विभिन्न नाका प्रयोग गरेर गाँजा भारत निर्यात हुन्छ ।
कुलतमा युवा, रोक्नका लागि ‘दुर्व्यसनीविरुद्ध आमाहरु’
प्रहरीका अनुसार नेपालमा लागुऔषध प्रयोग गर्ने युवाको संख्या बढ्दो छ । नेपालमा नियन्त्रित लागुऔषध सीमावर्ती भारतीय बजारका औषधि पसलमा बिक्री हुने बताउँदै, एसएसपी दाहालले भने, ‘लागुऔषध कारोबारी र प्रयोगकर्ता १६ देखि ३५ वर्षसम्मका धेरै छन् ।’ उनका अनुसार १६ वर्षमुनिका पनि केही संख्यामा प्रयोगकर्ता भेटिएका छन् ।
१६ देखि २५ वर्षसम्मका व्यक्तिहरु (महिला र पुरुष) प्रयोगकर्ता र कारोबारमा संलग्न भएको धेरैको संख्यामा भेटिएका छन् । २६ देखि ३६ वर्षसम्मका व्यक्तिको संख्या पनि कमी छैन । कुलतमा फस्नेमा युवाको संख्या धेरै रहेको दाहाल बताउँछन् ।
लागुऔषध कारोबार र प्रयोगकर्तालाई नियन्त्रण गर्न ‘दुर्व्यसनीविरुद्ध आमाहरु’ शीर्षकमा अभियान सञ्चालन भइरहेको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी चन्द्रकुवेर खापुङले बताए । खापुङ भन्छन्, ‘प्रदेशभर १ सय २४ वटा समिति गठन गरी प्रशिक्षण दिनेका काम भइरहेको छ ।’
उनका अनुसार सामाजिक अगुवाहरुसँगको समन्वयमा लागुपदार्थविरुद्ध जनचेतना मूलक कार्यक्रमसहित विद्यालय र कलेजमा गएर त्यसबाट हुने असरबारे विद्यार्थीहरुलाई जानकारी गराउनुका साथै बुझाउने गरिएको छ । लागुऔषधमा फस्ने ८ देखि १२ कक्षाका बढी हुने भएकाले पनि शैक्षिक संस्था केन्द्रित जनचतेनामूलक कार्यक्रमलाई विशेष जोड दिइएको डीआईजी खापुङले बताए ।

‘विद्यालयका अन्य कक्षाका साना बालबालिकालाई पनि लागुऔषधविरुद्ध सचेतना दिने काम निरन्तर भइरहेको छ,’ उनले भने, ‘लागुऔषध मात्र नभइ ट्राफिक सचेतना र समाजमा हुनसक्ने आपराधिक गतिविधिका घटनाबारेमा पनि विद्यार्थी सचेत हुन जरुरी छ ।’ सामुदायिक प्रहरीमार्फत विभिन्न संघसंस्थासँग समन्वय गरेर लक्षित उमेर समूहलाई प्राथमिकतामा राख्दै टोल–टोल र शैक्षिक संस्थामा सचेतनामूलक कार्यक्रम तीव्र पारिएको जानकारी उनले दिए ।
‘लागुऔषधको ओसारपसार, कारोबार र सेवन बढ्दो छ । यसमा युवापुस्ता सबैभन्दा बढी संलग्न रहेको पाइएको छ,’ डीआईजी खापुङले भने, ‘नियन्त्रणका लागि तत्काल सबै पक्षको ध्यान जान जरुरी छ । प्रहरीबाट मात्रै सम्भव हुने देखिँदैन ।’ उनका अनुसार लागुऔषधले मानिसको स्वास्थ्यसँगै धनसम्पत्ति स्वाहा भएको छ भने समाजमा अपराध र पारिवारिक कलह बढ्दो छ ।
लागुऔषधको भयावह अवस्थाले समाजमा धेरै समस्याहरु निम्त्याइरहेको छ । ‘नियन्त्रणमा प्रहरी सक्रिय भए पनि लागुऔषधको धन्दा बढ्दो छ । अवस्था भयावह भइसक्यो,’ खापुङ भन्छन्, ‘जतिसक्दो चाँडो सबै पक्ष जाग्न जरुरी देखिन्छ । हैन भने भोलिका दिनमा थप जटिलता निम्तिन्छ ।’
लागुऔषधले समाजलाई तहसनहस बनाइरहेको उनले बताए । ‘लागुऔषधको ओसापसार, कारोबार र सेवन गर्नेको संख्या बर्सेनि बढिरहेको छ,’ डीआईजी खापुङले भने, ‘यो चिन्ताजनक विषय भएकाले सबै गम्भीर हुनुपर्छ ।’


















